२०८३ जेष्ठ १९ गते मङ्गलवार

आज जेठ १९ गते दरबार हत्याकाण्ड,घटना अझै रहस्यमय

फोटो फाईल

काठमाण्डौ, १९ जेठ । वि.स. २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी भएको गोलीकाण्ड दिन । तत्कालीन राज परिवारको दरवार हत्याकाण्ड भएको २५ वर्षसम्म पनि रहस्यमयमै छ । २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । उक्त हत्याकाण्डको घटना अहिले पनि रहस्यमय छ । यद्यपी तत्कालिन उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।  तर यो प्रतिवेदनप्रति आम नागरिकले विश्वास गर्न सकेका छैनन् । उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन सकिएको छैन ।

हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको जानकार बताउँछन् । यद्यपी यसको पुष्टि अझै पनि हुन सकिरहेको छैन भने घटना रहस्यमय बन्दै गएको देखीन्छ । गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । रहस्यको पर्दा खुल्न नसकेको उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ । नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १९ गते मङ्गलवार
प्रतिक्रिया