२०८३ जेष्ठ १८ गते सोमवार

घोराहीमा आयोजित विज्ञान पत्रकारिता प्रर्वद्धनका लागि तीनदिने तालिम सम्पन्न

घोराही, १८ जेठ । विज्ञान, प्रविधि तथा नवप्रर्वद्धन सम्बन्धी विषयवस्तुलाई प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत जनस्तरसम्म पु¥याउने उद्देश्यले दाङको घोराहीमा आयोजित विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तिनदिने तालिमको आज समापन गरिएको छ । विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा जेठ १६ गतेदेखि सञ्चालन भएको तालिम सोमवार समापन गरिएको हो। तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा बोल्दै प्लानेटेरियम, वेधशाला तथा विज्ञान संग्राहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले पत्रकारिताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयलाई सकारात्मक र तथ्यपरक ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले पछिल्लो समय विज्ञान र प्रविधिको प्रभाव समाजका हरेक क्षेत्रमा बढ्दै गएको भन्दै यस्ता विषयलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । विज्ञानसम्बन्धी जटिल विषयवस्तुलाई सरल, सहज र प्रभावकारी भाषामा आम नागरिकसम्म पु¥याउन पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले पत्रकारितामा विषयगत विविधता आवश्यक रहेको बताउनुभयो। उहाँले पत्रकारहरू राजनीतिक समाचारमा मात्र सीमित नभई विज्ञान, प्रविधि, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा विशिष्टीकृत रिपोर्टिङतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

तालिम अवधिभर कार्यकारी निर्देशक सनतकुमार शर्मा, प्रा. डा. कुन्दन अर्याल, रत्नराज्य लक्ष्मी क्याम्पसका पत्रकारिता तथा आमसञ्चार विभागका विषय विज्ञ ऋषिकेश दाहाल तथा विषय विज्ञ टंकप्रसाद उप्रेतीले विज्ञान लेखन, अनुसन्धानमूलक पत्रकारिता, विज्ञान सञ्चार र विषयगत रिपोर्टिङलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो। समापनका अवसरमा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया