२०८३ जेष्ठ १८ गते सोमवार

सामुदायिक वन महासंघको ३१ औँ स्थापना दिवस मनाईयो

तुलसीपुुर, १८ जेठ । दाङसहित देशभर सामुदायिक वन उपभोक्ता महासंघ नेपालको ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । दाङको तुलसीपुर–४ घोरानेटीमा पनी एक कार्यक्रमका बिच दिवस मनाइएको छ । “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सामुदायिक वन संरक्षण, स्थानीय समुदायको अधिकार तथा वन व्यवस्थापनमा जनसहभागिताको महत्वबारे चर्चा गरिएको थियो । जरायोटाकुरी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरको आयोजना, लुम्बिनी प्रदेश महासंघ तथा जिल्ला महासंघ दाङको समन्वय रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश महासंघका महासचिव शोभाकर सापकोटाले सामुदायिक वनहरूले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

उहाँले सामुदायिक वनको दिगो व्यवस्थापनमार्फत हरित अर्थतन्त्रको विकास र वातावरण संरक्षणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्यानुभयो । जरायोटाकुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समूहका पूर्वअध्यक्ष घनबहादुर पुन, वन प्राविधिक मानबहादुर खड्का, रेञ्जपोष्टका प्रतिनिधि तथा महासंघका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर खड्कालगायतले सामुदायिक वन आन्दोलनको इतिहास, उपलब्धि र चुनौतीबारे धारणा राखेका थिए । स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सामुदायिक वनको संरक्षण, जैविक विविधताको संवद्र्धन, स्थानीय नागरिकको सहभागिता तथा वनजन्य स्रोतको न्यायोचित उपयोगमार्फत समृद्ध समाज निर्माणमा सामुदायिक वनको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । महासंघका सहसचिव भूपबहादुर केसीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने स्थानीय महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थिया । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव रक्षा काफ्लेले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया