२०८३ जेष्ठ १७ गते आइतवार

तुलसीपुरको दोस्रो आवधिक योजना मस्यौदा माथि बृहत् छलफल

तुलसीपुर, १७ जेठ । तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको दोस्रो आवधिक विकास योजना (आर्थिक वर्ष २०८३-८४) देखि २०८७/८८) को मस्यौदा माथि आइतबार तुलसीपुरमा बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले आगामी आर्थिक वर्षहरूमा नगरका गौरवका योजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गरिने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, औद्योगिक ग्राम स्थापना, आधुनिक बधशाला निर्माणलगायत दीर्घकालीन महत्वका योजनालाई आवधिक योजनामा समेटेर अघि बढाइने जानकारी दिनुभयो।

सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष नहकुल केसीले कुनै पनि विकास योजना सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले योजनाको निरन्तरता, स्रोत व्यवस्थापन र कार्यान्वयनमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । यस्तै उपप्रमुख स्यानी चौधरीले योजना निर्माण मात्र पर्याप्त नभएको उल्लेख गर्दै तयार भएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारी तथा सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

त्यसैगरी, इन्टेनिसिभ स्टडी एण्ड रिसर्च सेन्टरका विज्ञ डा.गोकर्ण ज्ञवालीले स्थानीय तहका पञ्चवर्षीय योजनाहरू विकास निर्माणका महत्वपूर्ण मार्गदर्शक दस्तावेज भएकाले यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।यस्तै प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले आवधिक योजना निर्माणले उपमहानगरपालिकाको कार्यसञ्चालनलाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। उहाँले आर्थिक मितव्ययिता, सुशासन र विकासका प्राथमिकताहरू निर्धारण गर्न आवधिक योजनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले इन्टेनिसिभ स्टडी एण्ड रिसर्च सेन्टर सँगको साझेदारीमा दोस्रो आवधिक विकास योजना तयार पारेको हो। योजनामा आर्थिक विकास, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, विपद् व्यवस्थापन र सामाजिक विकास गरी पाँच विषयगत क्षेत्रलाई समेटिएको छ। कार्यक्रममा विषयगत समिति, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई छुट्टाछुट्टै समूहमा विभाजन गरी मस्यौदामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विभिन्न सुझाव तथा राय प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाको योजना शाखा प्रमुख रमा खड्काले गर्नुभएको थियो। आवधिक योजनाले आगामी पाँच वर्षका लागि तुलसीपुरको विकासको स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
प्रतिक्रिया