सल्यान , १६ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ को वडा कार्यालयमा न्यायिक अभिमुखीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । स्थानीय स्तरमा न्यायमा नागरिकको पहुँच सहज बनाउने तथा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
वडा अध्यक्ष प्रेमबहादुर नेपालीको अध्यक्षता एवं गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक बुद्ध कुमारी के.सीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत जीवराज के.सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय तहमा न्यायिक समितिको भूमिका, अधिकारलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्दै न्याय प्रणालीलाई सरल र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।
साथै उनीहरुले सामान्य प्रकृतिका विवादहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै न्यायिक समिति मार्फत विवाद समाधान हुनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा गाउँपालिकाका पुर्व उपाध्यक्ष सीता के.सी. पूर्व वडा अध्यक्ष प्रेमबहादुर खड्का, कार्यपालिका सदस्य बसन्ता जी.सी. र भास्कर ओली लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका उजुरी प्रशासक अमर थापाले गर्नुभएको थियो। साथै वडामा मेलमिलाप केन्द्रको औपचारिक उद्घाटन गरिएको छ ।






