दाङ,११ जेठ । जाँडरक्सी सेवन गरेर सवारी चलाउँदा वैशाख महिनाभर देशभर १ सय २४ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १ सय ७४ जना घाइते भएका छन्। नपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
प्रदेशगत विवरणअनुसार मधेश प्रदेशमा २० वटा सवारी दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। बागमती प्रदेशमा १२ वटा दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशमा ५ वटा दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा ९ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। यस्तै, कर्णाली प्रदेशमा ३ वटा दुर्घटनामा ३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ३ वटा दुर्घटनामा ४ जना घाइते भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जाँडरक्सी सेवन गरेर सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दो क्रममा रहेको छ। यस्तो लापरवाहीले चालकसँगै यात्रु तथा सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।





