काठमाडौ, ७ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई -हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्न साम्पाङले माग गर्नुभएको छ ।
आजको संसद बैठक सुरु भएलगत्तै अघिल्ला दिनजस्तै उठेर राईले प्लेकार्ड प्रदर्शन गर्नुभएको थियो त्यसपछि सभामुख डीपी अर्यालले उहालाई दुई मिनेट बोल्न समय दिनुभयो ।
आफ्ना भनाइ राख्ने क्रममा राईले प्रधानमन्त्री शाह पनि संसद सदस्य भए संसद निमावलीको नियम १५ को उपनियम २ मा भएको व्यवस्था अनुसार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो । आफूले २०८३ साल वैशाख २८ र २९ गते उठाएका प्रश्नको जवाफ नपाएको गुनासो गर्नुभयो । आफ्ना प्रश्न केही गृह मन्त्रालय र केही रक्षा मन्त्रालयसँग सम्बन्धित रहेको र ती मन्त्रालय हाल प्रधानमन्त्री मातहत रहेकाले त्यसको जवाफ पनि प्रधानमन्त्री बालेन शाहले नै दिनुपर्ने उहाको माग छ ।





