२०८३ जेष्ठ ७ गते बिहिवार

नेपालमा पेट्रोलको आयात दुई गुणाले वृद्धि

काठमाण्डौ, ७ जेठ ।  नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बरले बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो । गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ । डिजेलमा भने सामान्यमात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर डिजेल आयात भएकोमा गत आर्थिक वर्ष ९ लाख किलोलिटर आयात भएको निगमले जनाएको छ ।

गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ । डिजेल भने २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ । अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ । प्रादेशिक डिपोले सरकारी पम्पहरूका लागि दैनिक पेट्रोल १२५ देखि १५० ट्याङ्कर र डिजेल २ सयदेखि २५० ट्याङ्कर लोड हुने गरेको बताएको छ । निजी पम्पहरूका लागि भने दैनिक १५० ट्याङ्कर पेट्रोलियम पदार्थ लोड हुने गर्दछ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार
प्रतिक्रिया