काठमाडौ, ६ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा.रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दाबी गर्नुभयो ।मध्यपूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्ट्रेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको पनि कृषि मन्त्रालयले जनाएको छ । बिस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्राङ्गारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ । अब खेतीको मुख्य सिजन शुरु भैसकेको छ । यो बेला रासायनिक मलको माग र विषय जोडतोडका साथ उठ्ने गर्छ ।
नीति तथा कार्यक्रममा जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकतामा राखिएको छ । जैविक तथा प्राङ्गारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ । जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभएको छ ।





