२०८३ जेष्ठ ६ गते बुधवार

लुम्बिनी प्रदेशको बजेट खर्च निराशाजनक

दाङ,५ जेठ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा ३९.९१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आव २०८२/८३ का लागि ३८ अर्ब ८१ करोड बजेट विनियोजन गर्दै पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख छुट्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म जम्मा १३ अर्ब ७९ करोड ९१ लाख मात्र खर्च भएको छ । पुँजीगत खर्चको अवस्था झनै कमजोर छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले विनियोजित बजेटको सबैभन्दा बढी अर्थात् ५८.२३ प्रतिशत खर्च गरेको छ । त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले ४३.२८ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ४१.१५, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३८.९८, सहरी विकास तथा खानेपानी मन्त्रालयले ३६.५९ प्रतिशत र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ३५.५२ प्रतिशत खर्च गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले क्रमशः २६.६६ र २६.७५ प्रतिशत मात्र बजेट खर्च गरेका छन् । त्यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले २८.०७ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ११.२४ प्रतिशत मात्रै बजेट खर्च गर्दा युवा तथा खेलकुद मन्त्रालयले १६.३४ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार
प्रतिक्रिया