तुलसीपुर, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवस आज आईतवार दाङसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । एमाले केन्द्रिय कमिटी, जिल्ला तथा पालिका कमिटीहरूले मदन–आश्रितको स्मृतिमा विविध कार्यक्रम आयोजना गरेका हुन् । सोही अनुरुप दाङका दशवटै पालिकामा नेकपा एमालेले विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाएको छ । नेकपा एमाले तुलसीपुर नगर कमिटीले तुलसीपुरमा एक कार्यक्रमका बिच दिवस मनाएको हो ।
नगर कमिटीका उपाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य कोमल वलीले मदन–आश्रितको विचारलाई आत्मसात गर्दै पार्टीलाई जनतासँग अझ मजबुत रूपमा जोड्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलन र बहुदलीय लोकतन्त्र स्थापनामा दुवै नेताको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वलीले देश र जनताको परिवर्तनका लागि मदन–आश्रितले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेता–कार्यकर्तालाई उहाँहरूले देखाएको मार्गमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले विगतका निर्वाचनको गम्भीर समीक्षा गर्दै पार्टीलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो । उहाले मदन–आश्रितको विचार र योगदानले मुलक परिवर्तनमा धेरै महत्वपुर्ण भुमिका खेलेको स्मरण गराउनु भयो ।
नेकपा एमालेका रामबहादुर जीसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तुलसीपुर नगर इन्चार्ज रामजी चौधरी (मिलन), जिल्ला कमिटी सदस्य नवराज लामीछाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेकपा एमाले कपिलबस्तु जिल्ला कमिटि सदस्य देवीप्रसाद बेलबासेले मदनआश्रीतको बारेमा रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगर सचिव जितबहादुर खड्काले गर्नुभएको थियो । जननेताका रूपमा स्थापित भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । एमालेले भण्डारीलाई (जनताको बहुदलीय जनवाद) का प्रणेताका रूपमा सम्मान गर्दै आएको छ ।
यसैबीच, नेकपा एमाले शान्तिनगर गाउँ कमिटीले आज रगैचामा विशेष कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाएको छ । कमिटी अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य चुर्णबहादुर ओली प्रमुख अतिथि तथा जिल्ला कमिटी सचिव श्याम डाँगी विशिष्ट अतिथि रहनुभएको थियो । यस्तै घोराहीमा पनि मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको एमालेले जनाएको छ ।





