काठमाण्डौं,३ जेठ । मुस्ताङ प्रहरीले लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टी क्षेत्रबाट ठूलो परिमाणमा अवैध चिनियाँ इलेक्ट्रिक चुरोट (भेप) सहित विभिन्न सामान बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ निवासी सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ तथा भोटेकोसी गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन्। सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार उनीहरू कोरोला नाका हुँदै कन्टेनरमार्फत काठमाडौंतर्फ आउँदै गर्दा पक्राउ परेका हुन्।
सशस्त्र प्रहरीको टोलीले शंका लागी जाँच गर्ने क्रममा ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरबाट ५९० कार्टुन चिनियाँ इलेक्ट्रिक चुरोट बरामद गरेको हो। त्यसका साथै २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा तथा १५ बोरा लत्ताकपडा समेत फेला परेको प्रहरीले जनाएको छ।बरामद सामानको मूल्य खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ भने बरामद गरिएका सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।





