काठमाडौ, २ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फोन गरेको भन्दै दैलेखका एक वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ वीरेन्द्रचोक घर भई अहिले काठमाण्डौ बस्ने २२ वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर अमर्यादित भाषामा धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।उक्त घटना पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज विज्ञप्ति निकालेर खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो । खड्काले ‘एउटा सिफारिस पत्र बनाइदिन भन्दै शुरूमा आग्रह गरेका थिए । भण्डारीले प्रक्रिया अनुसार हुने बताएपछि खड्काले अपशब्द बोलेको अडियो सार्वजनिक भएको हो ।


















