२०८३ जेष्ठ ३ गते आइतवार

सहलगानी आयोजना मार्फत खानेपानी समस्या समाधान हुँदैछ : नगरप्रमुख खड्का

तुलसीपुर, २ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले खानेपानी उपभोक्ताको हितका लागि आफूहरू निरन्तर काम गरिरहेको बताउनुभएको छ । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आज शुक्रवार तुलसीपुर १८ बेलझुण्डीमा सम्पन्न भएको ११ औँ साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले संस्थाले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सहलगानी आयोजना सञ्चालन गर्न सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले तुलसीपुर उपमहानगरपालिकाले आयोजनाका लागि जमानी बसेर आवश्यक सहजीकरण गरेको बताउँदै सहलगानी आयोजना अन्तर्गत विभिन्न खानेपानी संरचना निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । “निकट भविष्यमै उपभोक्ताले सहज र नियमित रूपमा स्वच्छ खानेपानी पाउने अवस्था सिर्जना हुनेछ,” नगरप्रमुख खड्काले भन्नुभयो ।

सो अवसरमा सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख गुणनिधि पोख्रेल, खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख प्रकाशजंग शाह, राष्ट्रिय साना शहरी खानेपानी लुम्बिनी प्रदेशका उपाध्यक्ष दोर्ण बहादुर जैशी, तुलसीपुर–१६ का वडा अध्यक्ष शिवानन्द डाँगी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत , तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमणि पाण्डे , रास्वपाका ज्ञानेन्द्र कुमार पोख्रेल,नेपाली कांग्रेसका पदम वली, नेकपा एमालेका लोक बहादुर रोका, नेपाली कम्युनिष्ट पार्टीका दुर्गा बहादुर बिक, नेकपाका रामबहादुर थापा र उपभोक्ता सारदा केसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मुक्त बहादुर वली -मुकेश)ले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बसन्त थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा खानेपानी क्षेत्रमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा खानेपानी तथा सरसफाइ महासाखा प्रमुख गुणनीधि पोखे्रल, विद्यालयतर्फ दिपेन्द्र मावि मानपुर, उपभोक्ताको तर्फबाट छबिलाल चौधरी, वुद्धिराम खत्री र महालक्ष्मी प्रेस कम्प्युटर अपरेटर गुरुनाथ योगी रहनु भएको छ । संस्थाका उपाध्यक्ष मनकुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजरी करण सचिव मुकेश वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार
प्रतिक्रिया