२०८३ बैशाख ३१ गते बिहिवार

सुकुम्वासीलाई लालपुर्जा नपाउन्जेल मासिक १५ हजार रुपैयाँ घरभाडा दिने

दाङ,३१ बैशाख । सरकारले वास्तविक सुकुम्वासी तथा भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा लालपुर्जा वितरण नभएसम्म अस्थायी व्यवस्थापनस्वरूप मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी दिएको समितिका सभापति हरि ढकालले बताउनुभयो । उहाँका अनुसार घरभाडा वितरणका लागि आवश्यक स्रोतसमेत सुनिश्चित भइसकेको जानकारी समितिले प्राप्त गरेको छ ।

हाल काठमाण्डौका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन तथा सुकुम्वासीहरूको पहिचान गर्न ‘स्क्रिनिङ’ प्रक्रिया सञ्चालन भइरहेको छ । यो प्रक्रिया सम्पन्न भएलगत्तै सरकारले ‘फास्ट ट्र्याक’ प्रणालीमार्फत वास्तविक लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया