२०८३ बैशाख ३१ गते बिहिवार

दुई दशक लामो राजनीतिक यात्राबाट अलग भए चेतमान सेजुवाल

तुलसीपुर, ३१ बैशाख । लामो समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनसँग आबद्ध रहँदै आएका चेतमान सेजुवालले सक्रिय राजनीतिबाट अलगिएको घोषणा गर्नुभएको छ । सेजुवालले तुलसीपुर खबर संगको कुराकानीमा आफुले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै करिब दुई दशक लामो राजनितिक यात्राबाट विश्राम लिएको बताउनुभयो । उहाले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)केन्द्रमा आबद्ध रहि विभिन्न जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।

सेजुवालले व्यक्तिगत काम, पारिवारिक जिम्मेवारी तथा जीवनका प्राथमिकतालाई मध्यनजर गर्दै आजको मितिदेखि कुनै पनि राजनीतिक दल वा संगठनमा आबद्ध नरहेको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार यो निर्णय कुनै व्यक्ति, समूह वा विचारप्रति असन्तुष्टि वा विरोधका कारण नभई व्यक्तिगत आवश्यकता, समयको माग र जीवनप्रतिको नयाँ जिम्मेवारीबोधका आधारमा गरिएको हो ।

सेजुवालले २०६४ सालमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको जिल्ला कमिटी सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभएको उल्लेख गर्नुभएको छ । साथै तत्कालिन माओवादी केन्द्रको तुलसीपुर नगर कमिटी सदस्य ,साविक तुलसीपुर १ को वडा सेक्रेटरीको जिम्मेवारी सम्हाल्नुभएको थियो । यस्तै तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पाटी एकता पछि बनेको तत्कालिन नेकपा तुलसीपुर ३ नम्वर कमिटिको सचिव र नगर कमिटी सदस्यको रुपमा रहि काम गर्नुभएको थियो ।

उहाँले राजनीतिक यात्राले आफूलाई समाज, संघर्ष, नेतृत्व र जिम्मेवारीप्रति धेरै अनुभव र शिक्षा दिएको बताउनुभएको छ ।उहाँले आफ्नो राजनीतिक यात्राका क्रममा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण साथीहरू, अग्रज तथा शुभेच्छुकप्रति सम्मान व्यक्त गर्दै पछिल्ला केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रही स्वतन्त्र नागरिकको रूपमा सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न हुँदै आएको जानकारी दिनुभएको छ ।उहाँले आगामी दिनहरूमा पनि समाज, देश र समुदायप्रति सकारात्मक सोच, सद्भाव र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया