काठमाडौ, ३१ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ खोज्दै विपक्षी दलहरुले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । बिहान ११ः०० बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ ।
गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।
सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमै रहने सम्भावित कार्यसूची छ ।


















