२०८३ बैशाख ३० गते बुधवार

घोराही बनाऔं अभियानद्वारा दाङको विकासका लागि बजेट माग(मागहरु यस्ता छन् )

घोराही, ३० बैशाख । घोराही बनाऔं अभियानले दाङको दिर्घकालिन विकास र समृद्धिसँग जोडिएका आवश्यक भौतिक संरचनाहरु निर्माणका लागि सरकारसँग आगामी वर्षका लागी बजेट बिनियोजन गर्न माग गरेको छ । घोराही बनाऔं अभियानले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, अधिकारकर्मीहरू लक्ष्मी आचार्य, अनिता पोख्रेल, अभियानको उपसंयोजक विनोद केसी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
विकाससँग जोडिएका विषयहरु यस्ता छन् ।
१. दाङको तुलसीपुरस्थित टरिगाउँ विमान स्थलका लागि पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने ।
२.दाङको भविष्यसँग जोडिएको घोराही उपमहानगरपालिका ३ मा करीब ५ सय बिघा जमिन औद्योगिक क्षेत्रका लागि छुट्याइएको भएपनि यसलाई निर्माण गर्ने सवालमा अहिलेसम्म बजेट विनियोजन नभएकाले आगामी बर्षमा आवश्यक बजेट बिनियोजन गरी सो ठाउँमा उद्योगहरु खुल्ने वातावरण निर्माण गर्नुपर्ने । यसको साथै कृषि प्रधान देश नेपालमा सधैभरी कृषकहरुले रासायनिक मलको अभाव झेल्नु पर्ने भएकाले सरकारले छिटो भन्दा छिटो घोराही–३ मा मल उद्योग सञ्चालन गर्न तयारी गर्नुपर्ने ।
३. कोइलाबास भन्सार व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने ।
४. घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरबृद्धिका लागि छिटो भन्दा छिटो ४ सय बेडको बजेट सुनिश्चित गरी टेन्टर आव्हान गर्नुपर्ने ।
५. घोराही–होलेरी रोल्पा, घोराही–मुर्कुटी प्युठान, घोराही मसिना हुँदै प्युठानको स्वर्गद्धारी, घोराही–रामुपुर मुलाबारी हुँदै प्युठान, घोराहीको सौडियार–रिहार सडक, तुलसीपुर–सुर्खेत, तुलसीपुर–कपुरकोटलगायतका सडक निर्माण र पुर्न निर्माणको लागि बजेट बिनियोजन गर्नुपर्ने ।
६. हापुर–रक्षाचौर जोड्ने सडक निर्माण कार्य हाल तुलसीपुर क्षेत्रमा पुगेपछि रोकिएको छ, बजेट बिनियोजन गरी निर्माण कार्य सूचारु गनुपर्ने ।
७. लमही, घोराहीमा रहेको क्रिकेट मैदानको स्तर उन्नती गरी रातमा पनि क्रिकेट खेल्न सक्ने सुविधानसम्पन्न स्टेडियम बनाउनुपर्ने ।
८. तुलसीपुरको बेलझुण्डि, घोराहीको बाहुनडाँडामा रहेको फुटबल मैदानलाई सुुविधा सम्पन्न स्टेडियम बनाउन बजेट बिनियोजन गर्नुपर्ने ।

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार
प्रतिक्रिया