दाङ, २३ बैशाख । दाङ जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) ओसारपसार गर्ने सवारी साधनहरू विरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले मिति २०८३ साल वैशाख १५ गतेदेखि २१ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा कारबाही गरेको हो । उक्त अवधिमा अवैध कार्यमा संलग्न २ वटा जेसीबी, ६ वटा ट्रिपर र १० वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो । कारबाही प्रक्रियाअन्तर्गत जम्मा ४ लाख ५२ हजार चार सय एक रुपैयाँ जरिवाना असुल गरिएको छ । जरिवाना तिरेपछि सम्बन्धित सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूकै जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । साथै, यस्ता अवैध गतिविधिहरू नियन्त्रण गर्न आगामी दिनमा समेत कडाइका साथ अनुगमन जारी रहने जनाइएको छ ।।


















