तुलसीपुर, २२ बैशाख । दाङको तुलसीपुर–१९, बिजौरी क्षेत्रमा रहेका विभिन्न किराना तथा नास्ता पसलहरूमा अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरको संयुक्त टोलीले आज अनुगमन गरेको हो । अनुगमनका क्रममा ५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ । बिजौरी बजारमा रहेका खड्का सप्लायर्स, केसी मदिरा पसल, म्याक्स फुड सप्लायर्स, सैनिक खाजा घर लगायतका पसलहरूमा अनुगमन गर्दा अधिकांश व्यवसाय दर्ता, नवीकरण नगरेको पाइएपछि ३ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ । यीमध्ये खड्का सप्लायर्समा म्याद नाघेका धेरै खाद्य वस्तु भेटिएपछि जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
यसैबीच, वैशाख ८ गते अनुगमन गरिएको तुलसीपुर–१७, मानपुरस्थित कालिका एग्रोमा पुनः अनुगमन गरिएको छ । पुनः अनुगमनका क्रममा केही सुधार देखिएको भए पनि थप सुधार गर्दै उत्पादनलाई निरन्तरता दिन आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख पदम बरालले जानकारी दिनुभयो । अनुगमन टोलीमा कार्यालय प्रमुख बरालसहित खाद्य निरीक्षण अधिकृत सुदर्शन गोसाई, तुलसीपुर उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापन शाखाका खेमकान्त पाण्डे, तुलाराम केसी, नगर प्रहरी तथा पत्रकारलगाएतको सहभागिता रहेको थियो ।।


















