भालुवाङ, २१ वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राप्तीमा आयोजना गरिएको दीपप्रज्वलन कार्यक्रममार्फत प्रेस स्वतन्त्रताको महत्वलाई पुनः उजागर गरिएको छ । राप्ती प्रेस मञ्चको आयोजनामा लुम्बिनी प्रदेशसभा जाने मार्गमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै पत्रकारहरूले जिम्मेवार, तथ्यमा आधारित र सत्यनिष्ठ भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । साथै, राज्यले पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एबिसी सञ्चार डटकमका सञ्चालक सागर थापा, मञ्चका कोषाध्यक्ष लक्ष्मी पोख्रेल,सदस्य मोतीराम भट्टराई लगायतले आ–आफ्नो धारणा राख्दै स्वतन्त्र र उत्तरदायी पत्रकारिताको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
कार्यक्रम मञ्चका सचिव देवेन्द्रराज कडेल (श्रीधर)को स्वागत मन्तव्यबाट प्रारम्भ भएको थियो भने सञ्चालन मञ्चका सदस्य विदुर एमसीले गर्नुभएको थियो । कार्यक्रममा दीप प्रज्वलन गर्दै प्रेस स्वतन्त्रताको रक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो ।


















