काठमाडौ, १३ बैशाख । अमेरिकाले राखेको करिब १०० मिलियन डलर मूल्यबराबरका ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्तावमाथि पुनर्विचार गर्न नेपाली सेनाले उसलाई आग्रह गरेको छ।यसअघिकै सरकारको पालामा अमेरिकाले राखेको यो प्रस्तावबारे पुनर्विचार गर्न नेपाली सेनाले आग्रह गरेको हो।
नेपाली सेनाले अहिले आफूलाई २ वटामात्र साना हेलिकप्टर आवश्यक रहेको र यसबाहेक चार वटा जहाज तत्काल आवश्यक नरहेको बताउँदै पुरानो प्रस्तावमाथि पुनर्विचार गर्न आग्रह गरेको हो।यसबारे दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपाली सेनाबीच छलफल भइरहेको छ।
यसअघि नेपाली सेनाका लागि २ वटा हेलिकोप्टर सहयोग गर्ने सम्झौता भइसकेको छ, जसअन्तर्गत ती हेलिकोप्टरहरू आगामी वर्ष नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। तत्कालीन अमेरिकी उप–विदेशमन्त्री रिचर्ड बर्माको नेपाल भ्रमणका क्रममा उक्त सहयोग घोषणा गरिएको थियो।सेनाले उद्धारसहित विकास निर्माणका काम गर्न केही जहाज आवश्यक रहेको उल्लेख गर्दै प्रस्तावमाथि पुनर्विचार गर्न आग्रह गरेपछि यसबारे थप छलफल भइरहेको बुझिएको छ।


















