२०८३ बैशाख १० गते बिहिवार

रुकुम पश्चिमको एक विद्यालयमा १० लाख बढी रकम हिनामिना गरेको आरोपमा ८ जना विरुद्ध मुद्दा दायर

फोटो फाईल

दाङ, १० बैशाख । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिना प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विद्यालयमा आ.व. २०७८/०७९ मा सञ्चालन गरिएको प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रममा खरिद गरिएको भनिएका विभिन्न सामग्री विद्यालयमा आपूर्ति नै नगरी रकम हिनामिना गरिएको खुलेको हो।

विद्यालयमा I3 Dell server, Canon LiDE 300 स्क्यानर, नेटवर्किङ सामग्री, प्रोजेक्टर, 150 AH ब्याट्री र Cat 6 केबल लगायतका सामग्री खरिद देखाएर रु. ४ लाख ८८ हजार ८११ रुपैयाँ २४ पैसा बराबरको रकम दुरुपयोग गरिएको आरोपपत्रमा उल्लेख छ। त्यसैगरी ICT सामग्री सञ्चालनका लागि तालिम सञ्चालन गर्ने भन्दै बजेट विनियोजन गरिए पनि तालिम नै सञ्चालन नगरी झुट्टा बिल तयार गरी थप २ लाख २० हजार भुक्तानी गरिएको पाइएको छ। यी दुवै शीर्षकबाट मात्रै  ७ लाख ८ हजार ८११ रुपैयाँ २४ पैसा हिनामिना भएको देखिएको विशेष अदालतमा दायर गरिएको पत्रमा उल्लेख छ।

अनुसन्धानका क्रममा आ.व. २०७७/०७८ र २०७८/०७९ मा विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट संकलित शुल्कमध्ये ५४ हजार ८८१ रुपैयाँ ५९ पैसा बैंक दाखिला नगरेको, बेरुजु फर्छ्यौटको नाममा रकम घुमाएर दुरुपयोग गरिएको तथा बिना उद्देश्य  १ लाख झिकिएको समेत पुष्टि भएको छ। यसरी कुल  १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग भएको निष्कर्षसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको आयोगले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

कस–कसविरुद्ध मुद्दा ?

आरोपपत्र अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक हरि प्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकी विरुद्ध जनही १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बिगो कायम गरी कैद तथा जरिवाना माग गरिएको छ।त्यस्तै, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत के.सी. विरुद्ध जनही ४ लाख ८८ हजार ८११ रुपैयाँ २४ पैसा बिगो कायम गरी सजाय माग गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ -पहिलो संशोधन सहित)को दफा ३ को उपदफा -१)को देहाय -घ)बमोजिम कैद सजाय गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा -१)बमोजिम बिगो सहित जरिवाना सजाय गरी असूल उपर हुन मागदाबी गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, मुसिकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र कार्यालयका सूचना प्रविधि अधिकृत गोपाल ओली विरुद्ध पनि मुद्दा दायर गरिएको छ।यसैगरी तुलसीपुर उपमहानगरपालिका–६ निवासी डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वर्ल्डका सञ्चालक शिव प्रसाद श्रेष्ठलाई मतियारको हैसियतमा ७ लाख ८ हजार ८११ रुपैयाँ २४ पैसा बिगो कायम गरी सजाय माग दावी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिम मूल कसुरदारलाई सरह कैद तथा जरिवाना सजाय गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असूल उपर हुन समेतको मागदाबी गरीएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार
प्रतिक्रिया