काठमाण्डौ, ८ बैशाख । देशभर तापक्रम बढ्न थालेको छ । तराई मधेश क्षेत्रमा तातो हावा चल्न थालेको छ । अझै केही दिन तराई मधेशमा गर्मी र तातो हावाको लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम भैरहवामा ४२ डिग्री सेल्सियस मापन भएको छ । साथै, मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा ३८ डिग्री सेल्सियस आसपास तापक्रम मापन गरिएको छ । मौसमविद्का अनुसार अहिले वर्षा गराउने प्रणाली सक्रिय छैन ।
चर्को गर्मीसँगै तराईका केही ठाउँमा तातो हावा चलेपछि जनजीवन प्रभावित बन्न थालेको छ । विशेष गरी बालबालिका, वृद्ध वृद्धा, मजदुर र साना व्यवसायी यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । अत्यधिक गर्मीका बेला दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी तथा झोल पदार्थ खान, हल्का र खुला कपडा लगाउन तथा चर्को घाममा सकेसम्म खेतबारीको काम नगर्न आग्रह गरिएको छ । घरबाहिर निस्कँदा छाता, टोपी वा कपडाले टाउको ढाक्न सल्लाह छ ।।


















