तुलसीपुर, ५ बैशाख । तुलसीपुर उपमहानगरपालिका कार्यालयले हालसम्म पनि बहुँबर्षिय आय ठेक्का नवीकरण नगर्ने ठेकेदार कम्पनीको नाममा १५ दिने सार्वजनिक सुचना जारी गरेको छ । कार्यालयले गत बुधवार जारी गरेको सुचनामा ठेक्का सम्झौता अनुसार नवीकरण नगरे रद्द गरी कारवाही प्रक्रिया अघि बढाईने उल्लेख गरेको छ ।
कार्यालयले पटकपटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि नगरको ४५ औँ बैठकको निर्णय बमोजिम सुचना जारी गरिएको उल्लेख गरिएको छ । कार्यालयका अनुसार सडक बत्ती ट्राफिक बुथ सम्बन्धी ठेक्का अपटेक सिस प्रालि काठमाडौलाई परेको थियो । उक्त प्रालिले १५ वर्षको लागी २०७७ मंसीर १९ गते प्रालिका तर्फबाट गेहेन्द्र शाहले ठेक्का सम्झौता गरेको जारी सुचनामा उल्लेख छ । यस्तैगरी विज्ञापन कर असुली ठेक्का बैभव कन्स्ट्रक्सन तुलसीपुर ५ ले ३ वर्षको लागी २०८० असोज १७ गते सम्झौता गरेको थियो ।
यसको प्रतिनिधि विक्रान्त योगी रहेको सुचनामा उल्लेख छ । यस्तै बसपार्क पुर्वाधार शुल्कको ठेक्का लिएको बुढाथोकी टे«ड एण्ड सप्लार्यस धनगढी ४ कैलालीले पनि नवीकरण नगरेको सुचनामा उल्लेख छ । उक्त सप्लार्यसले २० वर्षका लागी मिति २०७८/११/२० गते ठेक्का सम्झौता गरेको हो । यसका व्यवसायी भिम बहादुर बुढाथोकी रहेको बताईएको छ । उपमहानगरपालिकाले राजस्व संकलनका हिसावले सडक बत्ती ,विज्ञापन कर र बसपार्क पुर्वाधार शुल्कलाई पनि महत्वपुर्ण श्रोत माने पनि अपेक्षा अनुसार राजस्व संकलन हुन सकेको छैन ।













