सुर्खेत, १९ चैत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको शव परिवारले बुझेको प्रहरीले बताएको छ। दोाषीलाई कारवाहीको माग गर्दै आन्दोलित भएका पिडित परिवारले घटनाको भएको २७ दिनपछि ईनिशाको शव बुझेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । इनिशाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखीएको थियो ।
विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएसँगै परिवारले शव लैजान मानेको हो।ट्युसन पढ्न बिहानै निस्केकी इनिशा गत फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।
पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो।यस घटनामा इनिशाका अभिभावकले चारै जनाविरूद्ध सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए।सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामूहिक बलात्कारका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको मागदाबीसहित अभियोगपत्र दर्ता गरेको थियो।
घटनाबारे चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई पेस गरेको थियो। जसमा इनिशा विकमाथि भएको बलात्कार र हत्या घटना सामूहिक नभएको राय पेस गरिएको थियो। उक्त राय अनुसार इनिशा विकको बलात्कार र हत्या घटनामा एक जनाको मात्रै संलग्नता रहेको प्रहरीको निष्कर्ष थियो। प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका प्रेमी भनिएका किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैदको मागदाबी गरिएको थियो। अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको थियो।




