२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरमा चुनावको दिन भोज खाएका २० जना बिरामी

तुलसीपुर, २३ फागुन ।  दाङको तुलसीपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन भोज खाएका २० जना बिरामी परेका छन । प्रहरीका अनुसार फागुन २१ गते मतदान गरी भोज खाएका उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो । तुलसीपुर–४ खाद्रेमा रहेको मतदान केन्द्रमा भोट हालेपछि स्थानीय भिमबहादुर घर्तीको घरमा गएर भोज खाएका २० जना बिरामी परेका हुन् । भोज खाएपछि उनीहरूमा बान्ता आउने, पखाला लाग्ने, पेट दुख्ने, ज्वरो आउने तथा टाउको दुख्ने लगायतका लक्षण देखिएपछि शुक्रबार उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकका अनुसार उनीहरूलाई फुड पोइजन भएको हो ।

बिरामीमध्ये तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया भिमसरी थापा, ३० वर्षीया गीता थापा, ३० वर्षीया अमृता बिक, ३८ वर्षीया तुलसी पुरी, २९ वर्षीया बालिका थापालगायत केही बालबालिकासहित ८ जनालाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेर अहिले उपचार भइरहेको छ । त्यस्तै अन्य दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई राप्ती लाइफ केयर अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य केही बिरामीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । यता तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापासँग यसबारे बुझ्न खोज्दा उहाँले यो बिषयमा समाचार बनाउन आवश्यक नरहेको प्रतिकृया दिनुभएको छ ।।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया