२०८३ बैशाख १९ गते शनिवार

तुलसीपुरबाट पहाडी जिल्लाहरुमा जाने सवारीमाथी ट्राफिक प्रहरीको कडाई

तुलसीपुर, १९ बैशाख ।  दाङको तुलसीपुर–सल्यान सडकखण्डमा ट्राफिक नियम कार्यान्वयनलाई लागू गराउन ट्राफिक प्रहरीले कडाई गरेको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको सक्रिय पहलमा सञ्चालन एकैदिन करिब ४०÷४५ वटा सवारी साधन जाँच गरिएको छ । जाँचका क्रममा चालकहरूलाई मात्रै सचेत गराउँदा पर्याप्त सुधार नदेखिएको निष्कर्षपछि यात्रुहरूलाई समेत सचेत बनाउने रणनीति अपनाइएको छ । ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रु दुवैलाई नियमको कडाइका साथ पालना गर्न स्पष्ट निर्देशन दिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थ भुषालले बताउनुभयोे । पछिल्लो समय पहाडी सडकहरूमा ओभरलोडका कारण दुर्घटना बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै रोल्पा, रुकुम र सल्यानतर्फ सञ्चालन हुने सवारी साधनको चेकजाँचमा विशेष कडाइ गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न केन्द्रित भएर निगरानी बढाइएको छ ।

अभियानका क्रममा सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा राख्नुपर्ने आरक्षण सिटको व्यवस्था, सरकारले निर्धारण गरेको भाडादरको पूर्ण पालना, तथा सिटबेल्ट प्रयोगजस्ता विषयमा विशेष जोड दिइएको छ । साथै, सवारी साधनको छतमा अव्यवस्थित रूपमा मालसामान राख्ने, भित्रै सामान थुपारेर यात्रुलाई असहज बनाउने प्रवृत्तिलाई तत्काल बन्द गर्न निर्देशन दिइएको छ । त्यसैगरी, नियमविपरीत जडान गरिएका अतिरिक्त लाइट, अवैध सिट थप्ने जस्ता कार्यले दुर्घटनाको जोखिम बढाउने भन्दै चालकहरूलाई कडा चेतावनी दिइएको छ। ट्राफिक प्रहरीले यस्ता कमजोरी दोहोरिए कानुनी कारबाही गरिने स्पष्ट संकेत समेत दिएको छ । अभियानकै क्रममा अटो रिक्सा चालकहरूले अगाडि सिटमा यात्रु राख्ने जस्ता जोखिमपूर्ण गतिविधि गरेको पाइएपछि त्यस्ता सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

साथै, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा लापरबाहीपूर्वक सवारी चलाउने चालकविरुद्ध तुरुन्तै प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरिएको छ । ट्राफिक प्रहरीले यात्रुहरूलाई आफ्नो अधिकारप्रति सजग रहन, तोकिएको भाडाभन्दा बढी असुली भए वा असुविधा भएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेको छ । सुरक्षित, व्यवस्थित र जिम्मेवार यातायात प्रणाली निर्माणका लागि चालक, सहचालक र यात्रु सबैको समान जिम्मेवारी हुने उल्लेख गरिएको छ । यस प्रकारका सशक्त सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरण, सेवा सुधार र यात्रु सुरक्षामा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया