२०८३ बैशाख १९ गते शनिवार

तुलसीपुरमा काँग्रेसको शक्ति संघर्ष : टिकट राजनीतिले जन्माएको विद्रोह

तुलसीपुरको राजनीतिक दृश्य फेरि एकपटक तातिएको छ । यो तापक्रम मौसमले होइन, पार्टीभित्रैको घर्षणले बढाएको हो । नेपाली काँग्रेसजस्तो पुरानो र संरचनागत रूपमा बलियो मानिने दलभित्र एक महाधिवेशन प्रतिनिधिको बहिर्गमनले किन यति ठूलो तरंग ल्यायो भन्ने प्रश्नको उत्तर सतहमा छैन् । बिमल रिजालको प्रस्थान केवल एउटा नाम घटेको घटना होइन, यो एउटा संकेत हो—भित्रभित्रै उकुसमुकुसिएको असन्तुष्टि अब बाहिर निस्किन थालेको छ । राजनीतिमा ‘मौन’ कहिल्यै खाली हुँदैन ।

रिजालले आफ्नो राजीनामामा कारण नखुलाउनु आफैंमा अर्थपूर्ण छ । किनभने कहिलेकाहीँ स्पष्ट आरोपभन्दा मौन विद्रोह धेरै शक्तिशाली हुन्छ । उनले क्रियाशील सदस्यता नै त्याग्दै पार्टीसँगको सबै सम्बन्ध तोड्ने निर्णय गरेका छन् । यो भावनात्मक प्रतिक्रिया मात्र होइन, यो एक रणनीतिक मोड हो । यसले स्पष्ट सन्देश दिन्छ— ‘अब यहाँ मेरो भविष्य छैन् ।’

तर किन यस्तो निष्कर्ष ? यसको उत्तर खोज्न तुलसीपुरको काँग्रेस राजनीतिको गहिराइमा डुबेर हेर्नुपर्छ । यहाँ केवल संगठन चलिरहेको छैन, यहाँ शक्ति बाँडफाँडको अदृश्य खेल चलिरहेको छ । यो खेलमा नियमभन्दा सम्बन्ध बलियो हुन्छ, योगदानभन्दा पहुँच भारी पर्छ, र आकांक्षा भन्दा भन्दा ‘कसको मान्छे’ भन्ने प्रश्न निर्णायक बन्छ ।

रिजालको आकांक्षा स्पष्ट थियो—तुलसीपुर उपमहानगरपालिकाको मेयर । उनी लामो समयदेखि त्यही लक्ष्यमा केन्द्रित थिए । स्थानीय स्तरमा सक्रियता, नेटवर्क विस्तार, कार्यकर्तासँगको सम्बन्ध—यी सबै उनले व्यवस्थित रूपमा अघि बढाएका थिए । तर राजनीतिमा मेहनत मात्र पर्याप्त हुँदैन, अन्तिम निर्णय सधैं ‘माथि’बाट आउँछ । र त्यही ‘माथि’सम्म कसको पहुँच छ भन्ने प्रश्नले खेल पल्टाइदिन्छ ।

यही ठाउँमा सुरेश हमालको नाम अगाडि आउँछ । नगर सभापति भएर मात्रै होइन, केन्द्रीय नेतृत्वसँगको निकट सम्बन्धका कारण उनी तुलसीपुर काँग्रेसमा ‘डिफ्याक्टो पावर सेन्टर’ जस्तै देखिन्छन् । सभापति गगन थापासँग निकटताको चर्चा केवल हल्ला होइन, त्यो व्यवहारमा देखिएको प्रभाव हो । पार्टीभित्र जब निर्णयहरू केही सीमित व्यक्तिहरूको वरिपरि घुम्न थाल्छन्, त्यहाँ असन्तुलन जन्मिन्छ—र, त्यही असन्तुलन अहिले सतहमा देखिएको छ ।

हमालले आफ्नो राजनीतिक उभारलाई केवल पदमा सीमित राखेनन् । उनले जोखिम लिए—विशेष महाधिवेशनको हस्ताक्षर अभियानको नेतृत्व गरे । त्यो अभियानले उनलाई ‘खेलाडी’ मात्र होइन, ‘गेम चेन्जर’ का रूपमा स्थापित ग¥यो । उनले देखाए— ‘म केवल संरचना भित्र बस्ने मान्छे होइन, म संरचना बदल्न सक्छु ।’ यही सन्देशले उनलाई केन्द्रसम्म पु¥यायो, र यही कारणले उनी टिकटको दौडमा अग्रपंक्तिमा देखिए ।

तर प्रश्न उठ्छ—के यही प्रक्रिया लोकतान्त्रिक थियो ? कि यो पनि शक्ति र पहुँचको खेल मात्र थियो ? यदि पार्टीभित्र सबै आकाँक्षीलाई समान अवसर र निष्पक्ष प्रतिस्पर्धाको वातावरण मिलेको भए, के रिजाल बाहिरिन्थे ? वा उनी पनि प्रतिस्पर्धामा बसेर अन्तिम निर्णय स्वीकार्थे ? यी प्रश्नहरू अहिले केवल तुलसीपुरका होइनन्, यी प्रश्नहरू काँग्रेसको समग्र संरचनामाथि उठेका छन् ।

रिजालको बहिर्गमनले अर्को वास्तविकता पनि उजागर गरेको छ—राजनीतिमा ‘सम्मानको अनुभूति’ पदभन्दा ठूलो कुरा हुन्छ । जब कुनै नेता आफूलाई उपेक्षित, कमजोर वा ‘अप्रासंगिक’ महसुस गर्न थाल्छ, उसले पदभन्दा पहिले आफ्नो अस्तित्व बचाउन खोज्छ । रिजालको निर्णय त्यही मनोविज्ञानको प्रतिफल हो । उनले सायद सोचे— ‘टिकट नपाउनु समस्या होइन, तर अवसर नै नपाउने प्रणालीमा बस्नु किन ?’

यही सोचले उनलाई नयाँ विकल्पतर्फ धकेलिरहेको देखिन्छ—राष्ट्रिय स्वतन्त्र पार्टी । पछिल्लो समय यो पार्टी पुराना दलबाट निराश भएका नेताहरूको ‘सेफ ल्यान्डिङ’ जस्तै बन्दै गएको छ । तर यो ल्यान्डिङ पनि रिजालका लागि सजिलो छैन् । किनभने नयाँ पार्टीमा पुराना समीकरणहरू छैनन्, तर नयाँ प्रतिस्पर्धा तीव्र छ ।

हरि रिजालजस्ता पहिल्यै स्थापित आकांक्षी हुँदा बिमल रिजालका लागि त्यहाँ पनि चुनौती कम छैन । त्यहाँ ‘पुरानो पहुँच’ काम लाग्दैन, त्यहाँ नयाँ विश्वसनीयता निर्माण गर्नुपर्छ । र राजनीतिमा नयाँ विश्वसनीयता बनाउनु, पुरानो संरचना भित्र टिक्नुभन्दा कहिलेकाहीँ झन् कठिन हुन्छ । तर राजनीतिमा जोखिम लिनेहरू नै कहिलेकाहीँ कथा बदल्छन् । यदि रिजालले नयाँ पार्टीबाट उम्मेदवारी दिए र केही मत तान्न सफल भए भने, त्यो केवल उनको व्यक्तिगत जित होइन,त्यो काँग्रेसभित्रको असन्तुष्टिको प्रत्यक्ष अभिव्यक्ति हुनेछ ।

तुलसीपुरको चुनावी गणित यसैले रोचक बन्दैछ । काँग्रेसभित्रको विभाजनले प्रत्यक्ष रूपमा अन्य दललाई फाइदा पु¥याउन सक्छ । यदि रिजालले काँग्रेसको मत बैंकमा चिरा पार्न सफल भए भने, त्यो निर्णायक हुन सक्छ । स्थानीय चुनावमा सानो मतान्तरले पनि परिणाम बदल्ने भएकाले यस्तो विभाजनलाई हल्का रूपमा लिन सकिँदैन ।

अर्कोतर्फ, सुरेस हमालका लागि पनि यो स्थिति सजिलो छैन । उनी अहिले शक्तिशाली देखिए पनि उनको नेतृत्व ‘स्वीकार्य’ हुन बाँकी छ । शक्ति केन्द्रित गर्नु र त्यसलाई सबैले स्वीकार गर्नु दुई फरक कुरा हुन् । यदि पार्टीभित्र असन्तुष्टि बढ्दै गयो भने त्यो चुनावी समयमा उल्टो असर गर्न सक्छ ।

यहाँ एउटा गम्भीर प्रश्न उठ्छ—के काँग्रेस आफ्नो कार्यकर्तालाई टिकाइराख्न असफल हुँदैछ ? यदि पार्टीभित्र अवसरको वितरणमा असन्तुलन रहिरह्यो भने यस्ता बहिर्गमनहरू बढ्ने निश्चित छ । र जब अनुभवी तथा सक्रिय नेताहरू बाहिरिन थाल्छन्, त्यसले संगठनलाई कमजोर बनाउँछ ।
यो घटनाले नेपाली राजनीतिमा एउटा व्यापक प्रवृत्ति पनि देखाउँछ—व्यक्तिगत आकांक्षा र संगठनात्मक संरचनाबीचको टकराव ।

पार्टीले अनुशासन र संरचनालाई प्राथमिकता दिन्छ, तर नेता व्यक्तिगत अवसर खोज्छ । जब यी दुईबीच सन्तुलन बिग्रिन्छ, त्यहाँबाट विद्रोह जन्मिन्छ ।
रिजालको प्रस्थान त्यही विद्रोह हो—शान्त, तर सन्देशपूर्ण । उनले कुनै आरोप लगाएनन्, कुनै विवाद सिर्जना गरेनन्, तर उनको कदमले धेरै कुरा बोलेको छ । कहिलेकाहीँ चर्को आवाजभन्दा मौन कदम धेरै प्रभावकारी हुन्छ । अब काँग्रेसका लागि प्रश्न स्पष्ट छ—के यसलाई ‘एक व्यक्तिको निर्णय’ भनेर बेवास्ता गर्ने ? कि यसलाई संकेत मानेर आत्ममूल्यांकन गर्ने ? यदि पार्टीले यसलाई गम्भीर रूपमा लिएन भने भविष्यमा यस्ता घटनाहरू बढ्दै जानेछन् ।
अन्ततः तुलसीपुरको यो घटना केवल स्थानीय राजनीति होइन, यो राष्ट्रिय प्रवृत्तिको झल्को हो । पुराना दलहरूभित्रको असन्तुष्टि, नयाँ शक्तिको आकर्षण, टिकट राजनीतिमा बढ्दो प्रतिस्पर्धा—यी सबै तत्व यहाँ एकै ठाउँमा देखिएका छन् ।

बिमल रिजालले पार्टी छाडेका छन्, तर उनले उठाएको प्रश्न अझै बाँकी छ । सुरेश हमाल उक्लिएका छन्, तर उनको परीक्षा अझै बाँकी छ । काँग्रेस अघि बढिरहेको छ, तर उसको बाटोमा दरारहरू देखिन थालेका छन् । राजनीतिमा यस्ता क्षणहरू केवल घटनाहरू हुँदैनन्, ती मोडहरू हुन्छन्र । तुलसीपुर अहिले त्यही मोडमा उभिएको छ—जहाँबाट फर्कन पनि सकिन्छ, र नयाँ दिशा लिन पनि ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया