तुलसीपुर, १९ बैशाख । दाङको तुलसीपुरमा बुद्ध जयन्तीको अवसरमा आज सत्संग कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुरको आयोजनामा भएको उक्त कार्यक्रम बुद्धले दिन खोजेको शान्ति, करुणा र अहिंसाको सन्देश समाजमा प्रभावकारी रुपमा फैलाउने उद्देश्यले गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले आजको समाजमा बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नसकिएको अवस्था देखिँदै गएको उल्लेख गर्दै आत्मशुद्धि, सहिष्णुता र मानवताको मार्गमा अघि बढ्न आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि तुलसीपुरका प्रतिष्ठित उद्योगपति देबेन्द्र रिजालले मानव धर्मको शरणमा पुग्दा छुट्टै आध्यात्मिक अनुभूति प्राप्त हुने बताउँदै धर्मको बाटोमा लाग्ने व्यक्ति नै जीवनमा सफल हुने बताउनुभयो । उहाँले आश्रमको भवन निर्माण कार्यलाई पूर्णता दिन आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर–१२ का वडा सदस्य सेसमनी भण्डारीले धर्मले समाजलाई सही दिशामा डोर्याउने बताउँदै नैतिक आचरण र सद्भाव कायम गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले युवापुस्तालाई सही मार्गमा अघि बढाउन यस्ता आध्यात्मिक कार्यक्रमहरूको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्नुभयो । नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुरका अध्यक्ष लिलाप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती भेरी प्रचारिका बैरागिनी बाइजी, चन्द्राकान्त बाइजी, क्षेत्र आश्रमका उपाध्यक्ष मंगल जीएमलगायतले आ–आफ्ना धारणा राखेका थिए । राप्ती भेरी प्रभारी महात्मा चादना बाइजीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रचार विभाग प्रमुख प्रेमकुमारी मगरले गर्नुभएको थियो ।।



















