२०८३ बैशाख १९ गते शनिवार

रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी

बीबीसी, ८ चैत्र । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।

त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उहाँले बताउनुभयो । बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन ’भित्तामा पुगेको’ भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनको भनाइ छ ।

उहाँले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताउनुभयो । यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको प्रस्ट सङ्केत गर्ने उहाँले बताउनुभयो ।

साइबर हमलाको खतरा
अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताउनुभयो । त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले हरकिसिमको यत्न गर्ने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया