काठमाडौ, १९ बैशाख । सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेश मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गर्नुभएको छ । शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गर्नुभएको हो ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अन्य दुईवटा अध्यादेश भने अध्ययनकै क्रममा छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि राष्ट्रपति पौडेलको चासो छ । यसअघिका सरकारबाट पनि पटकपटक सिफारिस भएको यो अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि पौडेलले कानुनविद्हरूसँग पनि छलफल गर्नुभएको थियो ।
राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन)अध्यादेश, २०८३ , १८ वैशाख (शुक्रबार)सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण -तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो ।आज (१९ वैशाख, शनिबार)भने एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ शनिबार दिउँसो जारी भएको हो ।


















