काठमाण्डौँ, ३० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताउनुभएको छ । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । जेनजी आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो । उहाँले भन्नुभयो–मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’ नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उहाँले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यहरूमा आधारित साझेदारीको स्मरण गर्नुभयो ।
अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थन मूल्यवान् रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । नेपाल र अस्ट्रेलियाका बीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उहाँले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौंदेखिको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो ।।

