तुलसीपुर, २२ कात्तिक । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ को अवसरमा प्रादेशिक अस्पतालमा उपचाररत ५५ जना विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रिय महासचिव प्रेम बहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोहीअन्र्तगत तुलसीपुरमा विरामीहरुलाई फलफुल वितरण गरी मनाइएको उहाँले बताउनुभयो । फलफुल प्राप्त गरेपछी विरामीहरुले पनि खुसी व्यक्त गरेका छन् ।
फुलफुल खानाले स्वास्थ्यलाई स्वस्थ राख्न मद्यत गर्नुका साथै विभिन्न किसिमका फाइदासमेत हुने भएकाले फलफुल वितरण गरिएको हो । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइएको छ । सन् १८९५ नोभेम्बर ८ अर्थात आजकै दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारको सम्झनामा प्रत्येक वर्ष यो दिवस विश्वभर मनाइँदै आइएको छ ।।

