
तुलसीपुर, ६ चैत्र । तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिका पूर्व प्रतिनिधि अनुप पाण्डेले पूर्वाग्रही रुपमा प्रहरीले हिरासतमा राखेको बताउनुभएको छ । तुलसीपुर–घोराही फोरलेन सडकका आधिकारीक प्रतिनिधि आएर सबन्धित व्यक्ती र प्रहरी प्रशासनलाई सडक निर्माणमा लागेको खर्चको रकम दिने र लिने दायित्व आफुहरुको भएको बताए पनि प्रहरीले पूर्वाग्रही रुपमा राखेर दुःख दिने काम गरेको गुनासो गर्नुभयो ।
कर्मचारीको रुपमा फोरलेन सडकको काम गर्दा संस्थाको तर्फबाट चेकमा हस्ताक्षर गरेपनि त्यो चेक आफ्नो व्यक्तिग प्रयोजनको नभइ संस्थागत भएकाले सम्पूर्ण दायित्व संस्थाले लिन्छौ भन्दै आधिकारीक व्यक्ती स्वयम जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएपनि बिभिन्न बाहानामा थुन्ने काम गरेको पाण्डेको भनाई छ ।
‘फोरलेन सडक निर्माणको जिम्मा लिएका शेर बहादुर मगर, रामशरण खड्का र श्रेष्ठ कन्ट्रक्सनका प्रतिनिधि आएर आधा रकम लैजानुस र बाँकी रकम केहि समयमा दिन्छौ । अहिले बैंकले लोन दिएको छैन । प्रकृयामा छ भन्दै सिडियो, एसपी र पिडितलाई भनिरहेका छन् । तर प्रहरीले अपराधी यो नै हो भन्नेगरी लागिरहेको छ ।’ पाण्डेले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकीलको कार्यालय र तुलसीपर उच्च अदालतमा आइतबार ७ दिनको म्याद थपका लागि आफुलाई उपस्थित गराएपनि दुबै न्याकिक निकायले धेरै दिन थुन्न नमिल्ने भन्दै ४ दिनभित्र अभियोगपत्र दायर गर्नेगरी म्याद दिएको पाण्डेले बताउनुभयो ।
सडक निर्माणको क्रममा भुक्तानी हुन बाँकी पिडित व्यवसायी, मजदुरको रकम भुक्तानी र कम्पनीले लिनुपर्ने बाँकी रकम अुसली र सडकको कामलाई तत्काल अघि बढाउने भन्दै शेर बहादुर, रामशरण र श्रेष्ठ कन्ट्रक्सनका प्रतिनिधि सुनिल केसी, प्रयासजंग क्षेत्री र रोषण श्रेष्ठ आएर सिडियो, एसपी र व्यवसायीसंग निरन्तर छलफलमा गरीरहेको उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–१६ निबासी गेहेन्द्र बस्नेतले फोरलेन सडक निर्माणको क्रममा आफुले ट्रिपर भाडामा लगाए वापत अष्ट भैरव कन्ट्रक्सन प्रालिको नाममा काटिएको एक करोड ८ लाख रुपैयाँ चेक सटही नभएपछि प्रहरीले पाण्डेलाई फागुन २८ गते नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । यता जिल्ला प्रहरी कार्यालय दाङले कानुनी प्रकृया अनुसार हिरासतमा राखिएको बताएको छ ।