तुलसीपुर, १६ बैशाख । दाङको “तुलसीपुर बनाऔं अभियान” ले तुलसीपुर उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूले लिँदै आएको शुल्कसम्बन्धी विषयमा नगरपालिकालाई गम्भीर ध्यानाकर्षण गराएको छ । अभियानले जारी गरेको पत्रमार्फत विद्यालय शुल्कका कारण आम अभिभावक र विद्यार्थीहरू आर्थिक तथा मानसिक रूपमा प्रभावित भइरहेको उल्लेख गरिएको छ । अभियानका अनुसार, तुलसीपुरलाई शैक्षिक, स्वास्थ्य, भौतिक तथा सामाजिक रूपमा विकसित र समावेशी शहर बनाउने उद्देश्यसहित यस्तो पहल गरिएको हो । तर पछिल्लो समय विद्यालयहरूले मनोमानी ढंगले शुल्क वृद्धि तथा विभिन्न शीर्षकमा अतिरिक्त रकम असुलिरहेको गुनासो बढ्दै गएको बताइएको छ । पत्रमा संघीय सरकारले तोकेको मापदण्ड विपरीत शुल्क असुली रहेको भन्दै स्थानीय तहले यस विषयमा प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरिएको छ । साथै, विद्यालय शुल्क निर्धारणसम्बन्धी स्पष्ट कार्यविधि बनाएर कडाइका साथ कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ ।
अभियानले पाँच बुँदे माग अघि सारेको छ । जसमा निजी तथा सामुदायिक विद्यालयको शुल्क निर्धारण गरी कडाइका साथ लागू गर्नुपर्ने, भर्ना शुल्क नलिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने, छात्रवृत्तिलाई पारदर्शी बनाउँदै वास्तविक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने, सामुदायिक विद्यालयमा पनि निजीसरह शुल्क असुल्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने तथा शिक्षा समितिका बैठकहरूलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग रहेका छन् । अभियानले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न स्थानीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै तुलसीपुरलाई नमुना शैक्षिक केन्द्रका रूपमा विकास गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले यसमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै माग कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।।


















