२०८३ बैशाख १६ गते बुधवार

सार्वजनिक गाडीको भाडा फेरि बढ्यो

दाङ,१६ बैशाख । सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा पुनः वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको वृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडा समायोजन गरेको हो, जुन आजदेखि लागू भएको छ। विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रका मालवाहक सवारी तथा तराई क्षेत्रका मालवाहक सवारीको भाडा ५–५ प्रतिशतका दरले बढाइएको छ। यसअघि पनि गत चैत २५ गते सार्वजनिक सवारीको भाडा वृद्धि गरिएको थियो। यद्यपि, विद्युतीय सवारी साधनमा भने यो निर्णय लागू हुने छैन। विभागले विद्युतीय सवारीले भाडा वृद्धि गर्न नपाउने स्पष्ट पारेको छ र यस्तो गरेमा कारबाही गरिने चेतावनी दिएको छ।

अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडा समायोजन गर्ने जिम्मा यातायात व्यवस्था विभागसँग रहनेछ भने प्रदेशभित्र सञ्चालन हुने सवारीको भाडा सम्बन्धित प्रदेश सरकारले निर्धारण गर्ने व्यवस्था छ। २०७८ साल चैत ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनको मूल्यमा हुने उतारचढावअनुसार सार्वजनिक सवारीको भाडा स्वतः समायोजन हुने ‘स्वचालित भाडा प्रणाली’ लागू गरेको थियो। यस प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले वृद्धि वा कमी भएमा सोही अनुपातमा भाडा समायोजन गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार
प्रतिक्रिया