दाङ, २४ भदौ । जेनजीको प्रर्दशनकारीहरुले तुलसीपुर सबै सरकारी कार्यालयहरु आगजनी गरेर ध्वस्त बनाएका छन् । प्रर्दशनकारीहरुले तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय,उच्च अदालत, आन्तरिक राजश्व कार्यालय, इलाका प्रशासन कार्यालय, नगर विकास समितिको कार्यालय, तुलसीपुर कारागारमा आगजनी गरेर ध्वस्त बनाएका छन् ।
त्यसैगरी नेकपा एमालेको पार्टी कर्यालय, नेपाली काँग्रेसको पार्टी कार्यालयहरु पूर्णमा ध्वस्त भएका छन् । प्रर्दनकारीले माओवादीको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका छन् । काँग्रेस र एमालेको आफ्नै भवन भए पनि माओवादीको कार्यालय भने भाडाको घरमा राखिएको थियो । कारागारका बन्दीलाई पनि त्यहाँबाट भगाइएको छ ।
त्यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेल, केन्द्रिय सदस्य कोमल वली, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, काँग्रेस नेता गेहेन्द्र गिरीको घरमा पनि आगजनी गरेका छन् । त्यसैगरी पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी र पूर्व सिचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको घरमा तोफोड गरेका छन् । तुसीपुरको कालिका मन्दिरदेखि बिहान ११ बजे शान्तिपूर्ण रुपमा सुरु भएको जेनजीको प्रर्दशनले बजार परिक्रमा गर्दैगर्दा दिउँसोपख उग्ररुप लिएको थियो ।
सयौंको संख्याबाट सुरु भएको प्रर्दशनकारीहरुको आन्दोलनमा दिउसोसम्म आइपुग्दा हजारौंको सहभागिता रहेको थियो । प्रर्दशनकारीहरुले दिनभरको पानीको झरीको समेत प्रवाह नगरेर सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए । स्वतस्फूर्त रुपमा निस्कीको आन्दोलनको नेतृत्व गर्ने कोहि पनि देखिएको थिएन । नेपालमा प्रतिवन्ध गरिएको सामाजिक संजाल र भ्रष्टाचारका विरुद्ध हिजोदेखि आन्दोलन सुरु गरेका जेनजीको आन्दोलनले दोस्रो दिन आइपुग्दा उग्र रुप लिएको थियो ।
हजारौको संख्यामा रहेका प्रर्दनशकारीहरुको सामू नेपाली र जनपथ प्रहरी निरीह बनेको थियो । त्यसैगरी घोराहीमा पनि घोराही उपमहानगरपालिका लगायतका दर्जनौ सरकारही कार्यालयहरु प्रर्दशनकारीहरुले तोडफोड र आगजनी गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका नेता राजु खनाल लगायतका नेताका घरहरुमा पनि तोडफोड र आगजनी गरेको बुझीएको छ ।

तुलसीपुर उपमहानगरपालिका

डिल्ली चाैधरीकाे घर

आन्दाेलनकारी

मालपाेत कार्यलय












