आचार्य कुलम स्कुलको प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न

तुलसीपुर, ३ फागुण । तुलसीपुर १० गोलौरीस्थित आचार्य कुलम स्कुलले आज प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ । पतञ्जली योग प्रशिक्षकहरुद्धारा संचालित नेपालकै पहिलो र एक मात्र योग, वैदिक र आधुनिक शिक्षा अध्यापन गराउने विद्यालयले आज भव्य रुपमा वार्षिकोत्सव मनाएको हो । विद्यालयका संयोजक दिपक बस्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेश पतञ्जली योग समितिका अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्यता एवम् प्राध्यापक तिलक प्रकाश सापकोटा र पूर्व प्रसाशक डाक्टर हेमलाल पन्थीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले योगलाई वैदिक संस्कृति र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको बताउनुभयो। योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक र आत्मिक समृद्धि हासिल गर्न मद्दत गर्ने बताउँदै, शिक्षा र योगको संयोजन गर्दै समग्र राष्ट्रका लागि बलियो र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा समिति निरन्तर लागिरहेको उहाँको भनाइ थियो। योग, वैदिक संस्कृति तथा आधुनिक शिक्षालाई सँगै लैजाँदै योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, गोलौरीमा विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो।
सो अवसरमा कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संस्कार सहितको शिक्षा प्रदान गरिरहेको बताएका छन् । समाज संस्कार विहीन हुँदै गैरहेको अवस्थामा बालबालिकालाई विद्यालयमै संस्कार सहितको शिक्षा प्रदान गरिरहेको विद्यालयले संस्कृत भाषा, वेद, योग समेत सिकाउने गरेको बताएका हुन् । कार्यक्रममा सल्लाहकारहरु अरुण कुमार श्रेष्ठ,गोकर्ण प्रसाद गिरी, तोडमान खड्का, सारदा पोख्रेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शिशु कक्षादेखि ६ सम्म संचालनमा रहेको विद्यालय आगामी शैक्षिक सत्रदेखि ७ कक्षासम्म संचालन गर्ने योजनाका साथ तयारी भैरहेको विद्यालयले जानकारी दिएको छ । विद्यालयमा अहिले बाँकेको नेपालगञ्ज, प्यूठान, घोराही लगायतका विधिन्न ठाउँका ७ जना विद्यार्थी विद्यालयमै आवासीय (बोडस्) रुपमा अध्ययन गरिरहेका छन् । विद्यालय स्थापना कालमा नै २ सय ५० जना विद्यार्थी भर्ना गर्न सफल विद्यालयको भौतिक संरचना, लगायत अन्य संरचना निर्माणाधिन अवस्थामा रहेका छन् ।

सो अवसरमा हाजिरी जवाफ प्रतियोगिता, घैटाफोट प्रतियोगिता, विद्यार्थीहरुको नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । हाजिर जवाफ प्रतियोगिता नौवटा योग साधना केन्द्रको सहभागीता रहेको थियो । जसमा अरनिको योग साधना केन्द्र तुल्सिपुर प्रथम, दोघरे आयुर्वेद योग साधना केन्द्र द्वितीय र भुँह्यार थान योग साधना केन्द्र तुलसीपुर तेस्रो भएका थिए । नगद सहित पुरस्कृत गरिएको थियो । विद्यालयका प्रन्सिपल मिलन बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आचार्य कुलम दाङ संचालक समितिका सदस्य टेक बहादुर खड्काले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया