२०८३ बैशाख १६ गते बुधवार

रास्वपा छत्रेश्वरी–३ को वडा भेला, जनतासँग गरेका प्रतिबद्धता व्यवहारमा देखिनुपर्नेमा जोड

सल्यान, १६ बैशाख ।  सल्यानको छत्रेश्वरी गाउँपालिका–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापति प्रकाश नेपालीले राजनीतिक परिवेशमा पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कामको आवश्यकता औंल्याउनुभयो । कार्यक्रमका प्रमुख अथितिसमेत रहेका नेपालीले जनताको विश्वास जित्न भाषणभन्दा काम गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागी पार्टीले व्यवहारमै परिवर्तन देखाउने उदेश्यले काम गरिरहेको पनि उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै विसिष्ट अतिथि कर्णाली प्रदेश कमिटी सदस्य घनश्याम बुढा मगरले संगठनलाई बलियो बनाउन अनुशासन, सक्रियता र युवाको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले स्थानीय मुद्दामा केन्द्रित भएर काम गर्न सके मात्रै पार्टीप्रति जनविश्वास बढ्ने बताउनुभयो ।

त्यसैगरी, जिल्ला कमिटी सदस्य तथा र्‍यापिड एक्सन टिम विभागका जिल्ला संयोजक लोकनाथ योगीले संगठनलाई गतिशील बनाउन तत्कालै कार्ययोजना बनाएर मैदानमा उत्रिनुपर्ने बताउनुभयो । उहाँले संकटका बेला छिटो प्रतिक्रिया दिने संरचनाका रूपमा र्‍यापिड एक्सन टिमलाई अझ प्रभावकारी बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने बताउनुभयो । भेलामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र कार्यगत सक्रियताबारे छलफल गरिएको थियो । वडा सभापती राजाराम सुनारको अध्यक्षतामा भएको भेलाले सुनारकै नेतृत्वमा ११ सदस्यीय वडा कमिटीसमेत गठन गरेको छ भने दुई सदस्य पछि थप गरिने जनाइएको छ । वडा कमिटिका उप–सभापती मोतिराम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वसन्त सुनारले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार
प्रतिक्रिया