दाङ, १६ बैशाख । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीय)नेपालको लगानीमा आजदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडकस्तरबृद्धिको काम सुरु भएको छ । उक्त सडकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले शिलान्यास गर्दै सडक स्तरबृद्धिको काम प्रभावकारी र गुणस्तरिय बनाउन सुझाव दिनुभएको छ ।
उहाले कुनै ढिलासुस्ती नगरी समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिदै कामको गुणस्तरियतामा ध्यान दिन आग्रह गर्नुभएको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो ।उक्त स्तरबृद्धिको जिम्मा दुई कम्पनीले पाएका छन् ।
एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर -भ्याट बाहेक २ करोड ८ लाख डलर) को ठेक्का सम्झौता गरेको छ । यस्तै उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को ठेक्का सम्झौता भएको छ ।
ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए ।मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति-एमसीए–नेपाल)ले उक्त परियोजनाको अनुगमन गर्ने भएको छ ।


















