
सल्यान, १० जेठ । विशेष गरी ग्रामीण भेग र समुदाय स्तरमा स्वास्थ्य सेवाको आधारको रुपमा रहेका महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरूको योगदान अतुलनीय रहेकोमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । जिल्लाको शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयोजित १० दिने आधारभुत तालिम समापन कार्यक्रमका सहभागि वक्ताहरुले स्वास्थ्यको मुल ढोकाका रूपमा उनीहरुले प्रभावकारी रुपमा काम गर्र्दै आएको बताएका हुन् । शनिबार छत्रेश्वरी गाउँपालिकाका १२ जना र शारदा नगरपालिकाका ६ जना गरेर १८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आधारभुत तालिम प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यक्रम संयोजक थलराज डिसीले जानकारी दिनुभयो ।
तालिममा प्राथमिक स्वास्थ्य सेवा, पोषण, मातृ शिशु स्वास्थ्य, सरसफाइ, सर्ने रोग तथा नसर्ने रोग व्यवस्थापन, तथ्यांक रिपोर्ट लगाएतका विषयमा ज्ञान, सीप प्रदान गरिएको थियो । छत्रेश्वरी गाउँपालिका स्थित भोटेचौरमा आयोजित समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले गाउँघरमा स्वास्थ्य सचेतना बढाउने अभियानमा महिला स्वयंसेविकाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर अर्जुन कुमार बुढा मगरले महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि नियमित अभिमुखीकरण, सीप अभिवृद्धि र प्रोत्साहन आवश्यक रहेकोमा जोड दिँदै यस्ता तालिमहरूले ज्ञान र आत्मविश्वासमा वृद्धि ल्याउने बताउनुभयो ।
छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढा, शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले आफ्नो भनाई राख्दै स्वयंसेविकाहरूका अनुभव र सेवाको सबैले कदर गर्नुपर्ने भन्दै प्रोत्साहनका लागि आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तालिम समापन कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रमाणपत्र तथा किटबक्स, झोला, छाता लगाएतका सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा छत्रेश्वरी गाउँपालिकाको तर्फबाट कन्सलटेण्ट जनरल फिजिसियन नवौँ तहमा सिफारिस भइ स्वास्थ्य सेवा कार्यालय सल्यानको व्यवस्थापकको रुपमा पदस्थापन भएका डाक्टर अर्जुन कुमार बुढा मगर र जनस्वास्थ्य अधिकृतमा स्तरवृद्धि भएका दमाचौर स्वास्थ्य चौकीका पूर्व इन्चार्ज चित्र बहादुर वलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टरहरु आरएन मानन्धर, सागर धिताल, जगत किरण वली, जनस्वास्थ्य अधिकृत कविता खनाल, तथ्यांक शाखाका प्रतीक भट्ट, कम्प्युटर अपरेटर कृष्णा बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाका स्थित सचिवालयका स्वकीय सचिव खडग शाही, स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगी, लगाएतको सहभागिता रहेको थियो ।
गत जेठ १ गतेदेखि सञ्चालन भएको आधारभुत तालिमको सहजकर्ताहरुमा छत्रेश्वरी गाउँपालिकाका सिअहेव वीर बहादुर वली, प्रतिमा बुढाथोकी, सिअनमी कोपिला परियार रहनुभएको थियो । तालिमबाट महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाहरुको ज्ञान र सीप बढेपछि उनीहरूको योगदान अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । कार्यक्रमको संचालन पत्रकार शंकर केसीले गर्नुभएको थियो ।।