
तुलसीपुर, ६ फागुण । थारू भाषा संस्कृति संरक्षणका लागि थारू पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको सरोकारवालाहरुले बताएका छन् । समाजका लागि सञ्चार पैरवी नेपाल एमव् थारु पत्रकार सङ्घ नेपाल दाङ शाखाले आयोजना गरेको एकदिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । उनीहरुले थारू समुदायको पहिचानका लागि थारू भाषा संस्कृति संरक्षणको आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डिसीले थारू भाषा संस्कृति संरक्षणका लागि उपमहानगरपालिकाले विशेष सहयोग गर्दै आएको बताउनुभयो । घोराही उपमहानगरपालिकाले थारू भाषालाई सरकारी कामकाजीको भाषा बनाएसँगै विद्यालयमा समेत थारू भाषामा पठनपाठन सुरुवात गरेको बताउनुभयो । देउता पुज्नु हुँदैन भन्दै गर्दा घोराही उपमहानगरपालिकाले प्रत्येक थारु गाउँमा भुँह्यार थान निर्माण तथा संरक्षणका लागि बजेट दिदै आएको उमप्रमुख डिसीले बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले थारू पत्रकारको क्षमता विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । थारू पत्रकारहरू पेसागत हकहितका लागि थारू पत्रकार एकताबद्ध हुनुपर्ने जोड दिनुभएको थियो ।
नेपाल पत्रकार संघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सामाजिक सञ्जालमा आउने विषय र आम संचारका माध्यममा आउने कुराहरुलाई छुट्याउन र बुझ्न नसक्दा पत्रकारिताको अर्थ नकारात्मक हुने गरेको बताउनु भयो । यसले आम नागरिकमा पुग्ने सन्देश समेत सबै सत्य नै हुनसक्छन भन्ने विश्वास हुन सक्ने पनि बताउनुभयो ।
सङ्घका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कल्याणकारिणी सभाका केन्द्रीय सदस्य भुवन चौधरी, थारू पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष सन्तोष दहित, घोराही उपमहानगरपालिकाका सुचना अधिकारी भिम बहादुर चौधरी, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली, फोनिज दाङका अध्यक्ष दिप्तिशिखा चौधरी, सङ्घको सल्लाकार लक्ष्मीमान चौधरी, थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी लगायतले बोल्नुभएको थियो ।
तालिममा पत्रकारिताको परिचय, समाचार लेखनको तरिका, थारु भाषाको पत्रकारिताको अवस्था र संभावना, पत्रकारितामा करियरको अवसर, नैतिकता र कानुन, सम्पादकीय लेखनको तरिका, साक्षात्कार र रिपोटिङ, महिला पत्रकारका अवस्था र सम्भावना, उद्घोषण तथा कार्यक्रम संचालनको तरिका, सामाजिक संजाको प्रयोग तथा व्यवसायीकरण लगायतका विषयमा तालिम दिइएको छ । तालिको प्रशिक्षकमा प्रेस काउन्सिल नेलापका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सचिव जेएन सागर, थारु पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष सन्तोष दहित, फोनिज दाङका अध्यक्ष दिप्ती शिखा चौधरी रहनु भएको थियो । तालिममा ३५ जना थारू युवा युवतीहरूको सहभागिता रहेको थियो । संघका सदस्य विष्णु कुसुमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष निता चौधरीले गर्नु भएको थियो ।।