विवाहमा ४० ग्रामभन्दा बढि सुन दिन नपाइने

तुलसीपुर,१२ जेठ ।
विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ । गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ । दाइजो, जन्ती र आफूखुशी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ । ऐन लागु भएपछि दुलाहा पक्षबाट बाजागाजा र सहयोगीसहित ७५ जनामात्र जन्ती जान पाउने छन् । विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ ।

विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ । तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुनेछ । कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केही दिनभित्रै संसदमा पेश गर्ने गृहको तयारी छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया