२०८३ बैशाख १६ गते बुधवार

तुलसीपुरमा सहकारी संवाद : समस्या पहिचानदेखि सुधारका ठोस प्रस्ताव

दाङ, १५ तुलसीपुर । तुलसीपुरमा आयोजित सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारेको संवाद कार्यक्रममा सरोकारवालाहरूले सहकारी सुधारका लागि कानुनी कार्यान्वयन, पारदर्शिता र क्षमता अभिवृद्धिमा जोड दिएका छन् । सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीले राखेको जिज्ञासामा बक्ताहरुले सोकुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख ललित बहादुर घर्तीले सहकारी सम्बन्धी ऐन–नियमको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो । उहाँले नियमन कमजोर हुँदा समस्या दोहोरिने भएकाले अनुगमन प्रणालीलाई थप सुदृढ बनाइने जानकारी दिनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमले सहकारी संस्थाको दिगोपनका लागि सञ्चालक र कर्मचारीको क्षमता अभिवृद्धि अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार सहकारी व्यवस्थापन, नेतृत्व विकास, पल्र्स विश्लेषण र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आगामी वर्ष पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ ।

 

त्यस्तै, जिल्ला बचत संघका अध्यक्ष बिमल अधिकारीले सहकारीप्रति बचतकर्ताको विश्वास कायम गर्न पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारीहरूको पहिचान गरी सुधार गर्ने र बचतकर्तालाई आश्वस्त पार्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिलाराम विष्टले सहकारी क्षेत्रको सुदृढीकरणका लागि व्यवहारिक सुधार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष विष्टले युवालाई सहकारीमा आकर्षित गर्न नवीन कार्यक्रम ल्याउनुपर्ने धारणा राख्दै उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्न सहकारीले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

“सहकारीहरूलाई विश्वसनीय बनाउन सबैभन्दा पहिले आन्तरिक सुशासन र पारदर्शिता मजबुत हुनुपर्छ । बचतकर्ताको पैसा सुरक्षित छ भन्ने विश्वास दिलाउन नसके सहकारीप्रतिको आकर्षण घट्दै जान्छ ।” अध्यक्ष विष्टले भन्नुभयो । सहयोगी बचतका उपाध्यक्ष लालबहादुर केसीले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकारण नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले गर्नुभएको थियो । यसैबीच सो अवसरमा २६ जना शेयर सदस्यले रक्तदान गरेको सहकारीका महासचिव दुर्गा शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया