२०८३ बैशाख १७ गते बिहिवार

दाङको इप्रका हेकुलीका बरिष्ठ सई दल बहादुर बुढा कारबाहीका लागी तानिए

तुलसीपुर, १९ असार ।  पश्चिम दाङको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख बरिष्ठ सई दल बहादुर बुढा कारवाहीका लागी तानिएका छन् । बरिष्ठ सई बुढा इप्रका हेकुलीको प्रमुखको रुपमा गएको १ महिनामै उनको जिम्मेवारी खोसिएको हो । गत जेठ १४ गते मात्रै कार्यालय प्रमुखको रुपमा हाजिर भएका बरिष्ठ सई बुढा बिवादमा मुछिन थालेपछी त्यहाबाट तानिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । उनीमाथी हेकुली गएको १ हप्तामै ट्याक्टर व्यवसायीहरुलाई बारम्बार फोन गरेर रकम माग गरेको आरोप लागेको छ । उनले ट्याक्टर व्यवसायीहरुसँग पैसा लिएर अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्न दिने र पैसा नदिनेलाई पक्राउ गर्ने गरेको पाइएपछी जेठ ३० गते तुलसीपुर खबरबाट ‘‘पश्चिम दाङका खोलामा प्रहरीको लुटधन्दा, पैसा पाए छुट, नपाए पक्राउ’’ शिर्षकमा समाचार प्रकाशीत भएको थियो ।

त्यसपछी उनीमाथी छानबिन गर्न जिल्ला प्रहरी कार्यालय दाङले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई निर्देशन दिएको थियो । इन्स्पेक्टर बिनोदराज खत्रीको नेतृत्वमा गठित छानबिन समितिले उनीमाथी छानबिन गरिरहेकै बेला त्यहाबाट तानिएको डिएसपी ठकुरीले बताउनुभयो । पहिलो पटक इप्रकाको प्रमुखको जिम्मेवारी पाएर हौसिएका बरिष्ठ सई बुढाले पदको चरम दुरुपयोग गरेको पाइएको छ । भर्खरै सरुवा भएर गएका उनले दंगीशरण आसपासका ट्याक्टर व्यवसायीलाई बारम्बार भेट्न बोलाएर हैरानी दिन थालेको गुनासो आउन थालेको छ । प्रत्यक ट्याक्टर व्यवसायीहरुसँग पैसा लिने उदेश्यका साथ उनले फोन गर्ने अभियाननै चलाएका थिए । त्यसरी पैसा लिइसकेपछी उनले खुलमखुल्ला रुपमा ट्याक्टरलाई गिट्टी बालुवा उत्खनन् गर्न दिने गरेका थिए ।

उनलाई अहिले इप्रका तुलसीपुरमा ल्याइएको छ । इप्रका हेकुलीमा अहिलेसम्मको इतिहासमा प्रमुखको जिम्मेवारीमा रहेर सबैभन्दा कम समय काम गर्न पाउनेमा बरिष्ठ सई बुढा नै रहेको पाइएको छ । यस अघिका कार्यालय प्रमुखहरु कम्तिमा पनी ८/१० महिनादेखी १ बर्षसम्म सफल्तापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेर फर्कने गरेका थिए । तर, बरिष्ठ सई बुढा भने गएको छोटो समयमै बिबादमा आएपछी उनलाई जिम्मेवारीबाट हटाइएको हो । उनी ३५ दिन मात्रै इप्रका हेकुलीको प्रमुखको रुपमा बस्न पाएका छन् । अहिले इप्रका हेकुलीको निमित्त प्रमुखको जिम्मेवारी हवल्दार इन्द्रलाल चौधरीलाई दिइएको छ ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया