प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध

 बुटवल,१ फागुन  ।
प्रदेश ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । भोलि बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ । सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । प्रदेश ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत छ ।दुई पार्टीको सहमति अनुसार यस प्रदेशमा मााओवादीले सभामुख पाएको छ । भोलिको बैठकमा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीलाई सभामुख घोषणा गर्ने र शपथ ग्रहण गर्ने प्रदेश ५ को सचिवालयले जनाएको छ । मंगलबार माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीले प्रदेश सचिबालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

८७ प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनसँग ६१ सांसद छन् । घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने बताए । ‘एकल उम्मेदवारीपछि भोलिको प्रक्रिया छोटो हुने भो, आधिकारिकता मात्रै भोलि हुनेछ’ प्रदेशसभा सहसचिव सुरेन्द्र अर्यालले अनलाइनखबरसंग भने ।

माओवादी सशस्त्र युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती भूमे गाउँपालिका-९ रुकुममा २०२४ असार २९ मा जन्मिएका हुन् । वीरबहादुर र जयकली घर्तीका छोरा उनी २०३६ सालबाट राजनीतिमा लागेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया