पुस्तकसँगको सम्बन्ध बिस्तारका आयाम र सम्मानित हुँदाको यो क्षण

 गत शुक्रबार नयाँ युगबोध दैनिकमा कार्यरत पृय मित्र गोविन्द खड्काजी र  मलाई मेधावी कन्सर्न घोराही र अध्ययन समुह दाङले अध्ययता तथा उत्कृष्ट  पाठकको रुपमा ठहर गरि सर्वोदय पुस्तकालयको परिसर भित्र सम्मान कार्यक्रमको आयोजना गर्यो।यसरी सम्मान र उत्प्रेरित गर्न र एक पाठकको तर्फबाट खेल्ने भूमिकामा थप जिम्मेवार बन्नको लागि घच्घच्याउन जाँगर देखाउने र यो अवसर दिलाउनुहुने मेधावी कन्सर्नका सञ्चालक पृय मित्र सूर्य बिसि  जि जसले अन्य पेशा व्यवसाय नअँगाली पुस्तक छ्पाइ,सम्पादन, बिक्रि वितरणमा संलग्न भै पठन संस्कृतिको फैलावटलाई अगाडि बढ्न बढाउन लागि पर्नुभएको छ। त्यसैगरी अध्ययन समुहमा आबद्ध हाम्रो समयका प्रतिभाशाली व्यक्तित्व गम्भीर अध्ययता तथा लेखक पृय भाइ प्रमोद धितालजि र पठन संस्कृतिलाई बढवा दिन,सचेत,जागरुक सुसंकृत, विवेकशील व्यक्ति र सभ्य समाज निर्माणमा योगदान पुर्याउने हेतु सर्बोदय पुस्तकालय स्थापना गरि त्यसको बिस्तार र प्रबर्द्धनमा निरन्तर खटिनु भै एक गुनिलो सत्कर्ममा जुट्नु भएका आदरणीय विद्वान व्यक्तित्व सुशील गौतम सर लगायतका सम्पूर्ण  सज्जन ब्यक्ति,ब्यक्तित्वहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।

  मैले यसै सन्दर्भमा भन्नैपर्ने हुन्छ यदि समयमै पुस्तक साथिहरु संग सर संगत बस उठ र दोस्ती नसाटेको भए हकिकतमा म आज जे छु किमार्थ रहने थिइन। आफूलाई बुझ्ने,दुनियाँलाई बुझ्ने जीवन जगतलाई हेर्ने बुझ्ने बिश्व दृष्टिकोणमा सही दार्शनिक समझ रहने थिएन।जति जति पुस्तक साथीहरूसँग सम्बन्ध बढाउंछु, अन्तर्संबादमा जुट्छु उति धेरै आफूमा रहेका अज्ञानता,अल्पज्ञताको पर्दा खुल्छ जा मैले त केहि जानेकै रहेनछु भन्दै झनै सिक्ने जान्ने ज्ञानको भोकले सताउँछ र पेट काटेर भए पनि पुस्तक खरिदमा जुट्छु।पुस्तक अध्ययन कै क्रममा अन्तरसंवादमा जुट्दै गर्दा हिजो आफूले सही ठहर्याएका एक जबर्जस्त धारणा बनाएका कतिपय मूल्य,मान्यता र समझ या अहम, मपाईँत्वका जिद्दी पर्खाल चर्किदै र भत्किदै जान्छन् तर गज्जबको बात यो छ कि  ती चर्किदै र भत्किदै गर्दा किन्चित दु:ख मनाउ होईन झनै खुशी र गदगद हुन्छु।समाजलाई हेर्ने,दुनियाँलाई हेर्ने र जीवन जगतलाई हेर्ने जुन  द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादी दार्शनिक समझलाई बिश्वास गर्छु त्यसबाहेक म फरक दार्शनिक समझ अध्यात्मबादी जीवन दर्शन फरक मतका बिचार धारालाइ झनै रुचिका साथ पढ्न रुचि जगाउंछु।ताकी मलाई के भनिदैछ, कसरी अर्थाइदै छ वा पढिदैछ  भन्नेबारेमा जान्ने बुझ्ने र  घोत्लिन मन पराउंछु।

 पुस्तक अध्ययनकै सिलसिलामा जोड्न चाहें- र यो कुरा नढांटी भनौ पुस्तक पुस्तक अधययन गरेकै आधारमा म कार्यरत संगठनका मेरा सिनियर साथिहरु,समकक्षी,जुनियर साथीहरू देखि शास्त्रीय बामपंथी सोंच राख्ने साथीहरूबाट समेत क्रमशः निग्रानी,जासुसीको रूपमा समेत अर्थ्याइएं। तर म आफूलाई नभुल्दै स्वयं अनुशासन र पेशागत अनुशासनका सिमा र मर्यादालाई ख्याल राख्दै विभिन्न बिधाका पुस्तक अध्ययनमा जुटिनै रहें।पुस्तक अध्ययनबारेमा म स्पष्ट र दृढ़ मान्यता राख्छु कि; तपाईंले खुबै पढ्नुहुन्छ रे ,तपाईंले खुबै गीत संगीत सुन्नुहुन्छ रे वा रचना गर्नुहुन्छ रे तर कस्तो?कुन कथ्य सामाग्रीको?त्यसले बहुत माने राख्छ र अर्थ राख्छ।जस्तै मानौ-तपाईंले आफ्नो सामुन्नेमा समाजमा एक दलित प्रतिनिधिलाई जातिय छुवाछूत उचनिच र विभेद गरेको थाहा पाउनुहुन्छ तर त्यस पिडक र अन्यायी हर्कत सम्बन्धमा तपाईं चुं बोल्नुहुन्न भने तपाईंको के काम?तपाईं युवा,बिद्यार्थी,प्राध्यापक भएको के काम?

 तपाईंले समाजमा आफ्नो गाउंघर टोलमा एक महिला उपर कथित बोक्सी जस्ता आरोपबाट सताइएकी होस् वा उसको घर परिवारबाट प्रताडित र दुखी बनाएइकी विभिन्न हिंसा खेपेकी महिलाको अबस्थाबारे थाहापाउनुहुन्छ उसले तपाईंको सहयोगको अपेक्षा गरेको छ तर त्यस मुद्दा  उपर तपाईं असहयोगी,बेखबर भै झनै उल्टो पिडकको पक्षमा वकालत गर्न पुग्नुहुन्छ पीडितलाई विभिन्न बहानामा दुखि बनाउन सहयोग पुर्याउनु हुन्छ भने तपाईंको पढाइको, डिग्रीको,तपाईं कथित बुद्धिजीवीको के काम?

तपाईंको गाउँघर समाजमा एक गरिब किसान मजदुरले मालिक वा साहु महाजनबाट उसको मिहिनत  अनुसार पाउनुपर्ने  ज्याला पाइराखेको छैन ,उसले थुप्रैपटक मालिकलाई भेट्दा आफ्ना गुनासा राख्दा उसको सुनुवाइ भएको छैन उस उपर शोषण र दलन भएको छ भन्ने चालपाइ राख्नु भएको छ तर उसको मार्का र संबेदनसिलता उपर वेवास्ता राख्नु हुन्छ चुं बोल्नु हुन्न भने तपाईंको अध्ययनको के काम?त्यसैगरि तपाईंको गाउँ घर टोलमा अन्य थुप्रै बिकृती,ब्यथिती र बिसंगती भैराखेको देख्दा समेत तपाईंलाई छुंदैन र दुख्दैन भने तपाईं जागरुक भएको तपाईं पढालेखा भएको के अर्थ?

यी र यस्तै सामाजिक सरोकारका मुद्दामा बेखबर नोमालुम र अनदेखा भै केवल घरको पिंढि र सिढिमा तल माथी गर्दै कोठेगफ चिया गफमा रमाउनु हुन्छ आफू केन्द्रित हुनुहुन्छ ,बौद्धिक बिलासमानै आफू योग्य भएको ठान्नुहुन्छ भने तपाईंको के काम?

  यसर्थ तपाईंको पढाईले, तपाईंको बौद्धिकिले, तपाईंको जागरुकताले, तपाईंको सचेतताले,तपाईंको अनुभवले, तपाईंको योग्यताले, तपाईंको आचरण ब्यबहारले, तपाईंको लेखेको कथा ,कविता, संस्मरणमा,,उपन्यासमा ,निबन्धमा गीत तथा संगीतमा समाबिष्ट कलाचेतले कस्को, कुन बर्ग पक्षधरताको,कुन बिषय सामाग्रीको पक्षपोषण गर्दछ?त्यसलेनै तपाईंको ब्यक्तित्व पहिचान र स्तर मापन गर्दछ।त्यसलेनै हकिकतमा तपाईं जम्मामा को हो?छर्ल्याउङ्ग छ।मैले देखिरहेको हुन्छु चियापशलमा चोक चौतारीमा मोबाइल फोनको सामाजिक संजालमा घन्टौ समय बिताइ आफूलाई ब्यस्त बनाइराख्ने थुप्रै युवा साथीहरू, समाजका पेशा ब्यबसाय संघसंस्थामा आवद्ध ब्यक्ति ब्यक्तित्वहरुले आफ्नो सिर्जनात्मक र उर्जाशिल समयखेर फालिरहनु भएको छ ।कहिलेकाहीँ ठिकै होला के जतिबेला पनि ?त्यसको निश्चित समय तालिका खोइ?त्यस समय घरमा  तपाईं आमा दिदीबहिनी,छोराछोरी संग समय बिताउन सक्नुहुने छ।घरायसी काममा सघाउ पुर्याउनु हुने छ।घर आंगनमा रहेको खाली जमिन खन्न खोस्रन सक्नुहुने छ वा एउटा गतिलो र संदेशमूलक पुस्तक पढी ज्ञान बिज्ञानको फराकिलो सुन्दर र हराभरा फांटलाइ नियाल्न ,चियाउन र पर्गेल्न समय खर्चन सक्नुहुने छ।जसले गर्दा स्वयंलाई मात्र होईन दुनियाँलाई बुझ्न नियाल्न पाउनुहुने छ। 

 प्रबिधिलाई उच्चतम  र सहिरुपमा सदुपयोग होईन दुरुपयोग गरि सार्बजनिक रुपमा छाडा,ब्यक्तिगत गालिगलौज मानमर्दन,अश्लील र भद्दा किसिमले अभिव्यक्त हुने अराजक र मनपर्दी रुपमा प्रस्तुत हुने जमात बढ्दो छ।प्रबिधिमा मात्रै अभ्यस्त हुंदा आज मानिसको सिर्जनशीलता,रचनात्मकता गायब हुंदैछ ।गम्भीर चिन्तन मनन , गहिरो खोज अध्ययन र पड्ताल, बस्तुनिष्ठ समिक्षा भन्दा पनि हावा उपरी र सतही बिषय सामाग्रीमा भर बिश्वास गर्ने,बिषय शीर्षकलाइनै आधार मानि त्यस तथ्यलाईनै एक मात्र सत्य ठान्ने र बहकिने जमात बढ्दो छ।ज्यादा नकारात्मकता,ज्यादा निराशा,ज्यादा अधैर्य,ज्यादा अराजकता र ज्यादा भड्काउले ठाउँ ओगट्दै छ के यसो हुनु समाजको बृहतर स्वास्थ्यको लागी शुभ संकेत हो त?बहुत सोचनिय बात रहन गएको छ। तपाईं हामी मानौ या नमानौ अहिलेको युवा पुस्ता अब तपाईं हाम्रा गनथन सुनेर, भर पत्यार गरेर तपाईं हाम्रा शास्त्रीय रुढी मतलाइ हुबहु रुपमा  बिश्वास मान्न्न राजी छैन।उ यति धेरै अधैर्य छ कि उसलाई तत्काल परिमाण चाहिन्छ।देशमा बढ्दो बेरोजगार शासन सत्तामा भएको कचिंगल अस्थिरता भद्रगोलताले गर्दा उ हमेशा आफ्नो भबिस्यको सुरक्षितताको अवसरको खोजिमा जुटिरहेको हुन्छ।पढेर के काम?गाउँको साइंलो माइलो फलानो अमेरिका अष्ट्रेलिया,जापान,कोरिया,क्यानेडामा गै टन्न पैसा कमाइ सक्यो ?के उसले पढेको हो र? आखिर पैसा मात्रै त रहेछ ठूलो भन्दै भएको घर खेत बन्धकमा राख्दै ऋण काढी बिदेश यात्राको तयारीमा जुटन थालिहाल्छ।के यसो हुनु शुभ संदेश हो र?यस परिस्थिति निर्माणले देशको स्वास्थ्य स्थितिमा के कस्तो असर पुर्याउला?

 यस सन्दर्भमा लेखक,साहित्यकार,नागरिक समाजका सचेत र जागरुक ब्यक्तित्वहरु,पत्रकार साथिहरुको भूमिका के रहने?दायित्व के रहने ?के निराशा,अराजकता,भड्काउलाई साथ दिने वा मुक बन्ने वा चुं नबोल्ने वा त्यसका अन्तर्य त्यसका अशलियत,त्यस पृष्ठभूमि जन्मनुका कारणहरु औल्याइ आशावादीता,सकारात्मक सन्देश प्रबाहमा जुट्ने गम्भीर चुनौती र कार्यभार अगाडि तेर्सिएको छ,देखापरेको छ।

  हामिले आफ्ना बालबालिकालाई कस्तो शिक्षा,संस्कार र वातावरण दियौं?हामिले हाम्रो घर भित्र ,आफ्ना सन्तति संग अभिभावक संग, जीवन संगिनी संग,टोल छिमेकी संग कस्तो व्यबहार गरिराखेका छौ?हाम्रा खानपिन,चालढाल,आचरण व्यबहार ,उठबस,सर संगत कस्तो छ?यसले झनै अर्थ र महत्व राख्छ।

हामिले अब बिबाहमा, जन्मदिनमा अन्य खुशिका अवसरमा पुस्तक उपहार दिने,आफू  संग भएका ज्ञानगुनका बिषय सामाग्री र अनुभवलाई पारिवारिक meeting राखी कम्तीमा महिनाको एकपटक मैत्रीपूर्ण र लोकतान्त्रिक हिसाबले छलफल गर्ने,एकापसमा भएका कमिकमजोरी उपर गल्ती महशुस गर्ने र आइन्दा सच्चिने र सच्याउने परिपाटीको वातावरण सिर्जना गर्न सक्छौं।केबल ब्यक्ती केन्द्रित मात्रै होईन समुदायमुखी र समाजको भलोको लागि केन्द्रित रहि छलफल गर्ने वातावरण तय गर्न सक्छौ निन्दा वा आलोचनालाई मात्रै सचेत र जागरुक भएको नठानी समस्या मात्रै नउठाइ समाधान मुखी उपाय र निकासका बारे पनि छलफल केन्द्रित गर्न सक्छौ ।यसले सायद बढ्दो असन्तुष्टि,महत्वाकांक्षा,निराशा,बढ्दो अराजकता र अघैर्यतालाइ चिर्न सोंच्न मद्दत पुग्छ कि?

  अन्त्यमा पठन संस्कृतिलाई बढवा दिन,त्यसको बिस्तार र प्रबर्द्धनमा टेवा दिन, सुसंकृत,चिन्तनशिल,बिबेकी सामाजिक उत्तरदायित्व भाव भएको  अशल र सज्जन मानिस जन्माउन र सभ्य समाज निर्माणको जग आधार तयार गर्न मेधाबी कन्सर्न र अध्ययन समूह दाङले जो अभियान छेडेको छ जुन जमर्को गरेको छ यस अभियान प्रति ऐक्यबद्धता प्रकट गर्दछु। साथिहरुको यस अभियानमा सामेल हुन दिलै देखि आह्वान गर्दै पुनः अन्त्यमा हामीलाई सम्मान  र उत्प्रेरित गरि आफ्नो ठाउँबाट  थप जिम्मेवार हुन जुन अवसर र मौका दियो  म मेधाबी कन्सर्न ,सर्बोदय पुस्तकालय र अध्ययन समुहको टिम प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्न चाहान्छु।सामाजिक सरोकारका मुद्दा  उपर बोल्नैपर्ने थुप्रै सवालहरु रहेर पनि पेशागत अनुशासनका सिमा र मर्यादालाई ख्याल राख्नु पर्ने हुन्छ र पनि एक सचेत नागरिकको हिसाबले सामाजिक उत्तरदायित्वपूर्ण भूमिका निर्बाहमा  कुनै कन्जुस्याइँ नहुने  थप प्रतिबद्धता समेत प्रकट गर्न चाहान्छु।यहाँहरुको सामुन्ने म केही होईन एक सिकारु र जिज्ञासु पाठक मात्र हुं भन्नेमा सदा सचेत छुं।हवस्त धन्यवाद।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया