राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु

काठमाण्डौं,२२ माघ ।
बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचनमा मतदान हुनु ७२ घण्टाअघि आइतबार १२ बजे रातिबाट मौन अवधि शुरु भएको हो । निर्वाचन आयोगले मौन अवधिको समयमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका, राजनीतिक दलका पदाधिकार, नागरिक समाज, मतदाताहरूले कुनै पनि प्रकारका निर्वाचनसँग सम्बन्धित प्रचारप्रसारमा संलग्न हुन नपाउने जनाएको छ ।

मौन अवधिमा सञ्चार माध्यमहरूले समेत कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा निर्वाचनलाई प्रभाव पार्ने गरी समाचार प्रकाशन तथा प्रसारण, मत सर्वेक्षण र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न नपाउने आयोगले जनाएको छ । तर, निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार
प्रतिक्रिया