चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक आज बस्दै

काठमाण्डौं,२१ माघ ।
चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक बस्दैछ  । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्नेछ । पहिलो बैठकमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशनआह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधी २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ । प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगिसकेका छन् ।

भावी सरकार निर्माण र प्रदेश सांसदको भूमिकाबारे उनीहरू आन्तरिक छलफल चलाइरहेका छन् । प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नुहुनेछ । प्रदेश २ मा १ सय ७ सांसद छन् । प्रदेश ५ को बैठक बुटवलमा बस्दैछ । सुरक्षा व्यवस्था कडा पारिएको छ भने बैठकले गर्ने निर्णयबारे सर्वसाधारणमा जिज्ञासा बढाएको छ । ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले पहिलो बैठकको अध्यक्षता गर्नुहुनेछ । बैठकले सभामुखको निर्वाचन लगायतका विषय पारित गर्नेछ ।
प्रदेश ५ मा एमालेका ४०, कांग्रेसका १९, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी (राजपा) का १ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठक सुर्खेतको वीरेन्द्रनगरस्थित संसद् भवनमा बस्नेछ । ज्येष्ठ सदस्य हिमबहादुर शाहीले बैठकको अध्यक्षता गर्नुहुनेछ । माघ २९ गतेका लागि सभामुख निर्वाचन तोक्ने पहिलो बैठकको कार्यसूची छ ।

प्रदेश ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्नुहुनेछ  । बैठकले सभामुख, उपसभामुखको निर्वाचन मिति तोक्ने छ भने कार्यविधि पनि पारित गर्ने कार्यक्रम तय भएको छ ।।

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार
प्रतिक्रिया